किरात लोहोरुङ याक्खाबा समाज संखुवासभाको जिल्ला, नगर तथा वडा कमिटी गठन


0
Shares

काठमाडौं – किरात लोहोरुङ याक्खाबा समाज संखुवासभाको जिल्ला कमिटीसहित विभिन्न तहका कमिटीहरू गठन गरिएको छ। कार्तिक १३ गते शुक्रबार खाँदबारी नगरपालिका–४, गैरी पाङमा प्रगति आमा समूहको भवनमा आयोजित आमभेलाले नयाँ नेतृत्व चयन गरेको हो।

किरात लोहोरुङ याक्खाबा समाज जिल्ला कमिटीका पूर्वअध्यक्ष केदार लोहोरुङको संयोजकत्वमा सम्पन्न आमभेलामा समाजका केन्द्रीय अध्यक्ष नईन्द्र लोहोरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

आमभेलाबाट किरात लोहोरुङ याक्खाबा समाज संखुवासभा जिल्ला कमिटीको अध्यक्षमा दिदिङका नुदन लोहोरुङ चयन हुनुभएको छ। त्यसैगरी खाँदबारी नगरपालिका कमिटीको अध्यक्षमा खोरन्डेका तारा कुमार लोहोरुङ र खाँदबारी नगरपालिका–४ वडा कमिटीको अध्यक्षमा यामप्रसाद देखिम चयन हुनुभएको छ।

यसैगरी समाजअन्तर्गतका भ्रातृ तथा अन्य संगठनहरूमा पनि नयाँ नेतृत्व चयन गरिएको छ। लोहोरुङ येमाखा बाथाला (समाधिस्थल) कार्यसमितिको अध्यक्षमा नवीन कुमार लोहोरुङ तथा जिल्ला लोहोरुङ साकेला समाज कमिटीको अध्यक्षमा जितान लोहोरुङ चयन हुनुभएको छ।

कार्यक्रममा समाजकी केन्द्रीय सदस्य निस्ता लोहोरुङले स्वागत मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि तथा केन्द्रीय अध्यक्ष नईन्द्र लोहोरुङले लोहोरुङ समुदायको भाषा, लिपि, संस्कार, संस्कृति, अधिकार तथा भावी योजना र रणनीतिका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। उहाँले नवनिर्वाचित पदाधिकारीहरूलाई आफ्नै लोहोरुङ याक्खाबा भाषामा शपथग्रहणसमेत गराउनुभएको थियो।

त्यस अवसरमा समाजका पूर्वकेन्द्रीय सदस्य तथा धरान उपमहानगर कार्यसमितिका पूर्वअध्यक्ष देवराज लोहोरुङले नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

नवनिर्वाचित सबै तहका पदाधिकारीहरूको तर्फबाट खाँदबारी नगर कमिटीका अध्यक्ष तारा कुमार लोहोरुङले प्रतिबद्धतासहित मन्तव्य राख्दै आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने बताउनुभयो।

कार्यक्रमका सभाध्यक्ष केदार लोहोरुङले आफ्नो कार्यकालमा भएका उपलब्धि तथा कमजोरीबारे स्पष्ट पार्दै नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो। उहाँले मन्तव्यपछि सभा विसर्जन गर्नुभएको थियो।

समाजको संगठनलाई थप सुदृढ बनाउँदै लोहोरुङ समुदायको भाषा, लिपि, संस्कार, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा नयाँ कमिटीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको सञ्चालन मनोज लोहोरुङले गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस्