लाखेजात्रा : अखण्डताभित्रको एकता र ताप्लेजुङको सांस्कृतिक आत्मा – वीरेन्द्र श्रेष्ठ,ताप्लेजुङ 0 Shares वीरेन्द्र श्रेष्ठ,ताप्लेजुङ चाडपर्व केवल पात्रोमा आउने केही निश्चित दिन होइनन्। ती मानव समाजले आफ्ना अनुभूति, स्मृति, विश्वास, श्रम, सिर्जना र सम्बन्धलाई पुस्तौँदेखि जोगाउँदै आएको जीवन्त अभिव्यक्ति हुन्। त्यसैले चाडपर्वलाई समाजको आत्मा भनिन्छ। समयसँगै पुस्ता बदलिन्छ, जीवनशैली बदलिन्छ, प्रविधि बदलिन्छ, तर आफ्नो इतिहास र पहिचान बोकेका संस्कार र संस्कृति नयाँ रूप धारण गर्दै समाजको चेतनामा जीवित रहन्छन्। नेपाल यही सांस्कृतिक जीवन्तताको अद्भुत भूमि हो। हिमालदेखि तराईसम्म फैलिएको हाम्रो समाज अनेक जाति, भाषा, धर्म, संस्कार र परम्पराले बनेको छ। यी विविधताले हामीलाई विभाजित गर्दैनन्, एकअर्काको अस्तित्व स्वीकार गर्ने संस्कारले एउटै राष्ट्रिय आत्मामा बाँध्छ। अखण्डताभित्रको एकता र विविधताभित्रको सहअस्तित्व नेपालको मौलिक शक्ति हो। ताप्लेजुङ यसको जीवन्त उदाहरण हो। र, यही सामाजिक दर्शनलाई व्यवहारमा उतार्दै पुस्तौँदेखि आफ्नो स्वरूप परिवर्तन गरेर पनि जीवन्त रहँदै आएको महत्वपूर्ण सांस्कृतिक उत्सव हो—लाखेजात्रा। बजारसँगै हुर्किएको लाखेजात्राको इतिहासताप्लेजुङको लाखेजात्राको इतिहासलाई फुङ्लिङ बजारको विकाससँग अलग गरेर हेर्न सकिँदैन। झण्डै १३३ वर्षअघि ताप्लेजुङको सदरमुकाममा अमिन कार्यालय स्थापना भएसँगै बजारको विकास प्रारम्भ भएको मानिन्छ। बजार विस्तार हुँदै जाँदा यहाँ नेवार समुदायको बसोबास, व्यापारिक गतिविधि र सामाजिक उपस्थिति पनि विकसित भयो। यही बजारभित्र आफ्नो संस्कार र संस्कृति बोकेर बसेको नेवार समुदायले लाखेनाच प्रदर्शनको परम्परा सुरु गर्यो। त्यसैले ताप्लेजुङमा लाखेजात्राको इतिहास पनि झण्डै १३०–१३२ वर्ष पुरानो सांस्कृतिक यात्रासँग जोडिन्छ। यो इतिहास केवल एउटा समुदायले आफ्नो परम्परा मनाएको कथा मात्र होइन। समय बित्दै जाँदा बजारमा बसोबास गर्ने विभिन्न जातजाति र समुदायले यसलाई आत्मीयताका साथ स्वीकार गरे। एउटा समुदायको मौलिक सांस्कृतिक परम्परा क्रमशः सम्पूर्ण फुङ्लिङको सामाजिक जीवनको हिस्सा बन्दै गयो। यही प्रक्रियाले लाखेजात्रालाई समुदायविशेषको परम्पराबाट साझा सामाजिक उत्सवमा रूपान्तरण गर्यो। लाखे : भयको आकृतिभित्र संरक्षणको चेतनालाखेको मुखौटा हेर्दा पहिलो दृष्टिमा एउटा भयावह आकृति देखिन्छ। तर संस्कृति केवल आँखाले देखिने दृश्य होइन, त्यसको अर्थ समाजको सामूहिक चेतनामा खोजिनुपर्छ। नेवार सांस्कृतिक परम्परामा लाखे केवल मनोरञ्जनको पात्र होइन। यसलाई दुष्टता, अशुभता र नकारात्मक शक्तिमाथि नियन्त्रणको प्रतीकका रूपमा समेत बुझिन्छ। बाहिरबाट उग्र देखिने आकृतिभित्र समाजलाई सुरक्षित, अनुशासित र शुभ दिशातर्फ डोर्याउने सांस्कृतिक चेतना अभिव्यक्त हुन्छ। लाखेजात्रासँग जोडिएको धार्मिक आख्यान श्रीकृष्ण र कंसको प्रसंगसँग पनि सम्बन्धित छ। यसले अन्ततः असत्यमाथि सत्य, दुष्प्रवृत्तिमाथि सद्प्रवृत्ति र अराजकतामाथि सामाजिक अनुशासनको विजयको भाव बोकेको छ। त्यसैले लाखेको नृत्य केवल ढोल, झ्याम्टा र मनोरञ्जनको लय होइनस यो समाजले पुस्तौँदेखि सुनाउँदै आएको सद् र असद्, अनुशासन र अराजकता तथा संरक्षण र विनाशबीचको सांस्कृतिक द्वन्द्वको कथा पनि हो। संस्कृतिलाई जीवनमै अंगाल्ने नेवास् समुदाय :नेपाली समाजका अनेकौं समुदायमध्ये नेवार समुदायको एउटा विशिष्ट विशेषता आफ्नो संस्कार र संस्कृतिलाई केवल पर्वका दिन सम्झने मात्र नगरी, जीवनपद्धतिकै रूपमा आत्मसात् गर्ने क्षमता हो। भाषा, भोजन, वास्तुकला, जात्रा, संगीत, नृत्य, कला, धार्मिक अनुष्ठान र सामाजिक परम्पराको समृद्ध संयोजन नेवार संस्कृतिमा देखिन्छ। संस्कृति पुस्तान्तरणका लागि पुस्तक र अभिलेख आवश्यक भए पनि त्यो मात्र पर्याप्त हुँदैनस त्यसलाई घर, टोल र समुदायको जीवनमै बाँच्न दिइनुपर्छ। नेवार समुदायले आफ्नो सांस्कृतिक सम्पदालाई यही जीवन्त प्रक्रियामार्फत पुस्तांतरण गर्दै आएको छ। आफ्नो पहिचानलाई जोगाउँदै त्यसलाई सामाजिक सहभागिताको उत्सवमा विस्तार गर्न सक्नु यसको अझै सुन्दर पक्ष हो। ताप्लेजुङको लाखेजात्रा त्यसैको एउटा उल्लेखनीय उदाहरण हो। २०२९ सालदेखि फुटबल : लाखेजात्रामा थपिएको आधुनिक आकर्षणलाखेजात्राको मूल इतिहास र त्यससँग जोडिएको फुटबलको इतिहासलाई अलग–अलग बुझ्न आवश्यक छ। लाखेजात्रा ताप्लेजुङमा २०२९ सालदेखि सुरु भएको होइन। यसको जरा त सदरमुकाम बजारको प्रारम्भिक विकाससँगै करिब १३०–१३२ वर्ष पुरानो सांस्कृतिक परम्परासंग जोडिएको छ। तर समयसँगै लाखेजात्रालाई थप मनोरञ्जनात्मक, आकर्षक र जनसहभागितामूलक बनाउँदै अधिक दर्शक आकर्षित गर्न तथा फुटबल खेलको सम्मान र यसको जीवन्ततालाई निरन्तरता दिन २०२९ सालदेखि लाखेजात्राको अवसरमा फुटबल खेल सुरु गरिएको इतिहास छ। त्यस समयदेखि फुटबल र लाखेजात्राबीच एउटा विशिष्ट सम्बन्ध स्थापित भयो। ग्रामीण पहाडी समाजमा मनोरञ्जन र खेलकुदका अवसर सीमित रहेको समयमा लाखेजात्राको अवसरमा आयोजना हुने फुटबल प्रतियोगिताले युवालाई मैदानमा ल्यायो, स्थानीय प्रतिभालाई मञ्च दियो र खेलकुदलाई सामाजिक उत्सवसँग जोड्यो। समयसँगै यो परम्परा थप परिस्कृत हुँदै आज ताप्लेजुङ फुटबलका रूपमा व्यवस्थित र आकर्षक स्वरूपमा अघि बढेको छ। यसले लाखेजात्राको सांस्कृतिक मूल चरित्रलाई विस्थापित गरेको होइनस बरु परम्परागत जात्रालाई आधुनिक पुस्ताको रुचि र ऊर्जासंग जोड्ने नयाँ आयाम थपेको हो। यही कारण आज लाखेजात्रा हेर्न आउने दर्शकका लागि लाखे नाच जति सांस्कृतिक आकर्षण हो, फुटबल पनि त्यति नै उत्साहको विषय बनेको छ। पुर्वी पहाडमा देखिएको फुटबलको आकर्षण र २०२९ सालदेखी खेलिएको इतिहासलाई नियाल्दा अब ताप्लेजुङले अर्को अध्याय थप्नु छ ( ताप्लेजुङका खेलाडीलाई राष्ट्र र अन्तरास्ट्रिय स्तरको खेलाडी बनाउने प्रण। धान रोपाइँदेखि गाईजात्रासम्मधान रोपाइँले लाखेजात्रालाई माटो, किसान र श्रमसँग जोड्छ। कृषि प्रधान समाजको जीवनशैलीलाई उत्सवसँग जोड्ने यो परम्पराले श्रमलाई सामूहिक उल्लासमा रूपान्तरण गर्छ। गाईजात्राले भने जीवन र मृत्युबीचको मानवीय सम्बन्धलाई सामाजिक अभिव्यक्ति दिन्छ। दिवंगत आफन्तको स्मरण, शोकलाई सामूहिक रूपमा स्वीकार गर्ने परम्परा र जीवनको अनित्यतालाई सहज रूपमा ग्रहण गर्ने चेतना यसमा अन्तर्निहित छ। यसरी लाखेजात्राभित्र श्रम, स्मृति, संस्कार र सामूहिक जीवन एकै ठाउँमा भेटिन्छन्। सानो लाखे : संस्कृतिको भविष्यतर्फको पुलसंस्कृति तबसम्म मात्र जीवित रहन्छ, जबसम्म नयाँ पुस्ताले त्यसलाई आफ्नो ठान्छ। पछिल्ला वर्षहरूमा विकसित हुँदै गएको ‘सानो लाखे’ यही पुस्तान्तरणको प्रभावकारी माध्यम बनेको छ। बालबालिका र युवाले लाखेको नृत्य, संगीत र परम्परासँग बाल्यकालमै आत्मीय सम्बन्ध स्थापित गर्नु भनेको भविष्यको सांस्कृतिक निरन्तरतामा लगानी गर्नु हो। परम्परा जोगाउने सबैभन्दा राम्रो उपाय त्यसलाई काँचको बाकसभित्र राख्नु होइनस नयाँ पुस्तालाई त्यसको जीवन्त हिस्सेदार बनाउनु हो। एउटै मञ्चमा अनेक पहिचानताप्लेजुङको लाखेजात्राको सबैभन्दा ठूलो शक्ति यसको बहुसांस्कृतिक चरित्र हो। लिम्बू समुदायको केलाङरयालाङ, गुरुङ, शेर्पा, तामाङ, तथा खस–आर्य समुदायका विभिन्न सांस्कृतिक प्रस्तुति एउटै उत्सवमा देखिनु आफैँमा एउटा सामाजिक सन्देश हो। यहाँ नेवारको लाखे हेर्न लिम्बू आउँछन्, लिम्बूको संस्कृति हेर्न नेवार उभिन्छन्, गुरुङ र शेर्पाका प्रस्तुति सबैले ताली बजाएर स्वागत गर्छन्। एउटै मैदानमा विभिन्न समुदायका युवाले फुटबल खेल्छन्स एउटै बजारमा सबै समुदायका मानिस व्यापार गर्छन्, खान्छन् र उत्सव मनाउँछन्। त्यसैले लाखेजात्रा कसको हो भन्ने प्रश्नभन्दा ठूलो उत्तर छ—यो सबैको सहभागिताले बनेको साझा समाजको उत्सव हो। आफ्नो पहिचानप्रति गर्व गर्नु र अरूको पहिचानलाई सम्मान गर्नु विरोधाभास होइन। वास्तवमा सभ्य समाजको आधार नै यही हो। संस्कृति र स्थानीय अर्थतन्त्रआजको लाखेजात्रा सामाजिक र सांस्कृतिक मात्र होइन, स्थानीय आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्र पनि बनेको छ। जात्राको समयमा फुङ्लिङमा जिल्लाका विभिन्न स्थानबाट मानिसको आवागमन बढ्छ। होटल, रेस्टुरेन्ट, यातायात, खुद्रा व्यापार, खाद्य व्यवसाय, हस्तकला तथा स्थानीय उत्पादनले प्रत्यक्ष लाभ पाउँछन्। फुडस्टलदेखि स्थानीय उत्पादनको प्रदर्शनसम्मका गतिविधिले संस्कृतिलाई स्थानीय अर्थतन्त्रसँग जोड्छन्। योजनाबद्ध ढंगले अघि बढाउन सके लाखेजात्रा ताप्लेजुङको सांस्कृतिक पर्यटनको विशिष्ट पहिचान बन्न सक्छ। फुङ्लिङदेखि काठमाडौंसम्मको सांस्कृतिक यात्रासंस्कृतिको भूगोल जन्मभूमिमा मात्र सीमित हुँदैन। ताप्लेजुङ–काठमाडौं नेवा समाजले काठमाडौंमा समेत लाखेनाच प्रदर्शन गर्दै आएको परम्पराले यसको प्रमाण दिन्छ कि ( मानिस जहाँ पुगे पनि आफ्नो माटोको स्मृति बोकेर हिँड्छ। फुङ्लिङको लाखेको ताल काठमाडौंमा सुनिनु केवल एउटा नृत्यको विस्तार होइनस यो जन्मभूमिसँगको भावनात्मक सम्बन्ध राजधानीसम्म पुर्याउने सांस्कृतिक यात्रा हो। इतिहासलाई अभिलेख बनाउने समययति लामो इतिहास बोकेको लाखेजात्रालाई केवल हरेक वर्ष आयोजना हुने कार्यक्रमका रूपमा हेरेर पुग्दैन। यसको इतिहास व्यवस्थित रूपमा अभिलेखीकरण गर्न आवश्यक छ। सदरमुकाममा अमिन कार्यालय स्थापना भएर बजार विकास सुरु भएको समयदेखि नेवार समुदायको आगमन, लाखेनाचको प्रारम्भ, त्यसको सामाजिक विस्तार, २०२९ सालदेखि फुटबलको प्रवेश र आजको परिस्कृत ‘ताप्लेजुङ गोल्ड कप’सम्मको यात्रा अब दस्तावेजमा सुरक्षित हुनुपर्छ। पुराना तस्वीर, पोस्टर, बाजागाजा, मुखौटा, प्रतियोगिताका अभिलेख, मौखिक इतिहास, अग्रजहरूको संस्मरण र महत्वपूर्ण घटनाहरू समेटेर लाखेजात्रा सांस्कृतिक अभिलेख निर्माण गर्न सकियो भने भावी पुस्ताले आफ्नो इतिहास केवल सुन्ने होइन, प्रमाणसहित बुझ्नेछ। निष्कर्ष : जीवित संस्कृति कहिल्यै पुरानो हुँदैनलाखेको मुखौटा पुरानो हुन सक्छ, तर त्यसले दिने सन्देश पुरानो हुँदैन। ढोल–झ्याम्टाको ताल पुस्तौँ पुरानो हुन सक्छ, तर त्यसमा नाच्ने पुस्ता हरेकपटक नयाँ हुन्छ। यही नै संस्कृतिको आत्मा हो। चाडपर्व मानव समाजको आत्मा हुन्, किनकि तिनमा समाजको सामूहिक स्मृति बस्छ। संस्कृति जीवित रहनु भनेको विगतलाई हुबहु दोहोर्याउनु होइनस विगतको आत्मालाई वर्तमानको चेतना र भविष्यको आवश्यकतासँग जोडिरहनु हो। ताप्लेजुङको लाखेजात्राले यही सत्य प्रमाणित गरेको छ। करिब १३०–१३२ वर्षअघि सदरमुकाम बजारको विकाससँगै नेवार समुदायले सुरु गरेको सांस्कृतिक परम्परा आज एउटा समुदायको सीमाभन्दा धेरै पर पुगेको छ। त्यसमा समयले नयाँ आयाम थपेको छ—धान रोपाइँ, गाईजात्रा, सानो लाखे, साहित्य, कला, चलचित्र, स्थानीय उत्पादन र २०२९ सालदेखि जोडिएको फुटबल हुँदै आजको परिस्कृत ताप्लेजुङ गोल्डकपसम्म। यसरी लाखेजात्राले आफ्नो मूल आत्मा जोगाउँदै समयसँग संवाद गर्न सिकेको छ। यही कारण जीवित संस्कृति कहिल्यै पुरानो हुँदैनस त्यो समयसँगै आफ्नो स्वरूप बदल्छ, तर आत्मा बचाइरहन्छ। नेवार समुदायले आफ्नो संस्कार र संस्कृतिलाई आत्मामै राखेर पुस्तौँदेखि जोगाएको लाखेजात्रा ताप्लेजुङमा आइपुग्दा अझ व्यापक सामाजिक अर्थमा विकसित भएको छ। यहाँ लाखे नेवार समुदायको मौलिक सांस्कृतिक सम्पदा भएर पनि सबैको साझा उत्सव बनेको छ। यसमा लिम्बूको केलाङ छ, गुरुङ र शेर्पाको सांस्कृतिक स्वर छ, किसानको श्रम छ, गाईजात्राको स्मृति छ, बालबालिकाको सानो लाखे छ, युवाको फुटबल छ, साहित्य र सिर्जना छ, स्थानीय अर्थतन्त्र छ—र सबैभन्दा माथि छ एकअर्काको अस्तित्व स्वीकार गर्ने सामाजिक चेतना। त्यसैले ताप्लेजुङको लाखेजात्रा केवल एउटा जात्रा होइनस यो हाम्रो सामाजिक चरित्रको ऐना हो। आफ्नो संस्कृति बचाऔँ—तर अरूको संस्कृति मेटेर होइन। आफ्नो पहिचानमा गर्व गरौँ—तर अरूको पहिचानलाई होच्याएर होइन। विविधतालाई स्वीकार गरौँ—तर विभाजनमा होइन, सहकार्यमा रूपान्तरण गरेर। अखण्डताभित्रको एकता, विविधताभित्रको सहअस्तित्व र समयसँगै आफूलाई पुनर्जीवित गरिरहने संस्कृतिको चेतना—यही ताप्लेजुङको लाखेजात्राको वास्तविक आत्मा हो।