नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको आवश्यकता

प्रमिला भण्डारी

नेपालको शिक्षण प्रणालीमा सुधार गर्नु अहिलेको गम्भीर आवश्यकता बनेको छ । शिक्षाको उद्देश्य केबल पास हुने मात्र नभई जीवन उपयोगी र व्यवहारिक ज्ञान दिनु हो । तर, अहिले पनि नेपाली शिक्षा प्रणाली रटन्ते र सैद्धान्तिक ज्ञानमा केन्द्रित भएको मात्र देख्न सकिन्छ । यसले विद्यार्थीहरूलाई सिर्जनात्मक, आत्मनिर्भर र रोजगारमुखी बनाउन सकेको छैन । आजको परिप्रेक्ष्यमा नेपालको शिक्षण प्रणालीले समाजको आवश्यकता, प्रविधिको विकास, र श्रम बजारको माग अनुसार आफूलाई अद्यावधिक गर्न सकेको छ कि छैन ? भन्ने प्रश्न उठ्न थालेको छ ।

हाम्रा पाठ्यक्रममा हरेक विषयवस्तुको प्रयोगात्मक पक्ष राखिएको छैन । दिनभरि कक्षाकोठाको सिटमा बसेर मात्र शिक्षाका उद्देश्य हासिल हुन सक्दैनन् । हरेक विषयवस्तुको गहनतम प्रयोगपरक अध्ययन गर्न आवश्यक छ र यो सम्भव पनि हुनसक्छ तर, हाम्रो मानसिकता नै वार्षिक परीक्षा प्रणालीमा अडकिएको छ । हाम्रा पाठ्यक्रम यति पुरानो छ कि ! यो आजको डिजिटल युग सँग मेल खाँदैन । समयानुसार पाठ्यक्रममा परिवर्तन न कहिले राष्ट्रिय बहसको विषय बन्यो न बन्न सकेको छ । विद्यार्थीहरूले ज्ञान त पाउछन् तर, त्यो ज्ञान व्यवहारमा प्रयोग गर्न सक्दैनन् । ग्रामीण क्षेत्रका विद्यालयहरूको अवस्था अझ दयनीय छ । शिक्षकमै अभाव, पुस्तकको अपुकता र प्रविधिको पहुँच नहुदाँ गुणस्तर शिक्षा प्रभावित भएको छ ।

नेपाली समाजमा विद्यालयमा लिने विषयात्मक परीक्षामा फेल भएमा जीवनका सम्पूर्ण कुरामा फेल भएको जसरी हेर्ने बुझ्ने सोच अझै पनि विद्यमान भएको पाइन्छ । भनिन्छ, विद्यार्थीहरू देशका कर्णधार हुन् । आजका कोपिला भोलिका फूल बन्ने तिनै विद्यार्थीहरू बालबालिका हुन् । तर, त्यस्तो गम्भीर विषयमा पनि राष्ट्रको ध्यान किन त्यति धेरै कमजोर ? “राष्ट्रले, समाजले र परिवार सानैदेखि रटाउँछ, तिमी विद्यालयको विषयगत परीक्षाको दौडमा सधैँ प्रथम हुनुपर्छ । यदि तिमी प्रथम भएनौ भने जीवनको दौडमा पछाडि पर्छौ ।” व्यावहारिक ज्ञानमा भने शून्य ।

समयअनुरूप पाठ्यक्रमको सही छनौट हुन नसक्दा पनि नेपालको शिक्षा प्रणाली झन्झन् दयनीय अवस्थामा गुज्रिरहेको छ । देश अनुकूलको गुणस्तरीय, वैज्ञानिक, व्यावसायिक तथा नेपालमा विद्यमान स्रोत र साधनको पहिचान एवं परिचालन गर्न सक्ने पाठ्यक्रमबाट देशले खोजेको र चाहेको जनशक्ति प्राप्त गर्न सकिन्छ । तर, हाम्रा विद्यालय पाठ्यक्रमहरु भने बढी परम्परागत र सैद्धान्तिक खालका छन् । पाठ्यक्रममा ९० प्रतिशत विषयवस्तु सैद्धान्तिक पढाईमा आधारित छन् । यसको अर्थ, वास्तवमा विद्यालयमा विद्यार्थीहरूले केही सिकिरहेकै छैन । तर, नेपालको सन्दर्भमा शिक्षालाई प्राथमिकतामा राख्ने भन्ने कुरा भनाई र भाषणमा मात्रै सीमित छ । अझै पनि नेपालको कयौं ग्रामीण भेगमा मानिसहरु शिक्षाको अभावमा गरिबी र कष्टकर जीवन बिताउन बाध्य छन् ।

आजका बैज्ञानिक अविष्कार एकैचोटीको प्रयासबाट सम्भव भएका भने पक्कै होइनन । “घोडा चढ्ने लड्छ” भने जस्तै पढ्ने र प्रयास गर्ने मान्छे नै फेल हुने हो । प्रयास नै नगर्ने मान्छे कसरी फेल हुन्छ ? जीवनको सफलता र असफलता विषयात्मक परीक्षामा उर्तिण वा अनुर्तिणबाट मापन गरि निर्धारण गर्ने मानसिकतालाई परिवर्तन गर्नु आवश्यक छ । नेपालमा शिक्षा केबल डिग्री र ग्रेडले भरिएको सटिफिकेटको प्रतिस्पर्धामा समिति भएको देख्न सकिन्छ । जबसम्म व्यवहारिकता र सिर्जनशीतलालाई पाठयक्रमको मूलमा राखिदैँन, तबसम्म शिक्षा क्षेत्रमा सुधार सम्भव छैन।

शिक्षालाई सामाजिक रुपान्तरण, आर्थिक समृद्धि र आत्मनिर्भर नागारिक उत्पादनको प्रमुख साधन मानिन्छ । तर, नेपालमा शिक्षाले त्यो उद्देश्य पूरा गर्न नसकेको तथ्य पटक पटक उजगार हुदै आएको छ । आज २१ औं शताब्दीमा आएर पनि नेपालको शिक्षा नीति वर्षौदेखि जुन थियो, अहिले पनि त्यहि नै कायम छ, जुन आफैमा लज्जास्पद छ । नेपालमा कयौं पटक सरकार फेरिए, शिक्षामन्त्री फेरिए तर शिक्षानीति फेरिएन ।

कुनै पनि घर बलियो हुनका लागि त्यस घरको आधार (जग) बलियो हुुनुपर्छ भने जस्तै, कुनै पनि देशको विकास र उन्नतिको मुलाधार भनेको नै शिक्षा हो । तर नेपालको सन्दर्भमा त्यो लागु भएको देखिदैन् । संघ, प्रदेश र स्थानीह तह गरि तीन तहमा सरकार विभाजन भए संगै शिक्षामा समय अनुसारको परिवर्तन र युगले चाहे अनुरुपको शिक्षा प्रणालीमा सुधार स्थानीय तहदेखि नै हुनु पर्ने हो । तर अपवाद बाहेक स्थानीय तहमा मोटर बाटो र एक घर एक खानेपानी धारा घर घर सम्म पुर्‍याउनुलाई नै विकासको परिभाषा बनाइएको छ ।

अहिले जताजतै चुनावी माहोल बढिरहेको अवस्थामा हेर्दा पनि कतै शिक्षा प्रणालीको सुधारको लागि कुनै नीति वा बहस भएको देखिदैन् । सबैभन्दा हस्यापद कुरा त अझ के हो भने, अधिकतम पार्टीहरुको त घोषणा पत्र नै तयार छैन । खै हजुरको घोषणा पत्र ? हामीले के आधारमा भोट दिने ? अधिकतम दलहरुले विकासका रणनिति बिना नै घरदलै कार्यक्रम गरि रहेका छन् । उनीहरुलाई जिताएर पठायौँ भने पनि भविष्यमा विकासको लागि के गर्ने भन्ने स्पष्टता छैन् । त्यसैले पनि यो अझै सोच्नयोग भएको छ की त्यस घोषणा पत्रमा नेपालको शिक्षा क्षेत्रको सुधारको लागि आवश्यक नीतिहरु अटाउँछन् वा अटाउदैन भने हेर्ने बाँकी नै छ । अटाई हाले पनि उँही पुरा दलहरुको जस्तै कागजमा मात्र सिमित हुने हो की !

नेपालको शिक्षा अहिले रोजगार दिने भन्दा बेरोजगार उत्पादन गर्ने कारखाना जस्तै बनेको छ । मध्यम स्तरका विद्यार्थी, कक्षा १२ वा सो सरहभन्दा माथिल्लो तह अध्ययन गरिरहेका विद्यार्थीहरुको लागि आशिंक समय अनुसारको रोजगार सिर्जना गर्ने जस्ता विषयमा सरकारसंग योजना नै छैन । जेनतेन विद्यार्थीहरूले डिग्री लिएपछि पनि देशभित्र रोजगरीको अवसर पाएका छैनन् । जस्तोतसो गरेर जागिर पाइ हाले पनि सरकारले तोके बमोजिम न्यूनतम पारिश्रमिक निजी कम्पनीहरुले दिदैन् । आफूले पाएको प्राविधिक ज्ञानलाई उपयोग गर्ने स्थान वा अवसर नपाउँदा विद्यार्थीहरूको विदेश जाने इच्छा दिन दुई गुना रात चार चौ गुना बढेको केही समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडि गएर दस मिनेट उभिदैँमा थाहा हुन्छ ।

उद्योगधन्दा नखुल्नु, भएका बन्द हुनु र चल्दै गरेका उद्योगधन्दामा अवसर नपाउनु जस्ता कारणले पनि आजका युवाहरूले विदेशी भूमिलाई आफ्नो कर्मथलो बनाउन बाध्य भएका छन् । नेपालमा पाएको डिग्री वा सर्टिफिकेटले विश्वबजारमा अवसर पाउने अवस्था वा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेका कारण पनि नेपालको शैक्षिक स्तर झन कमजोर बन्दै गएको छ । पढाइ सक्यो काम पाइदैन,काम पाए श्रम अनुसारको परिश्रमिक पाइदैन् । यो हो नेपालका आजका युवा जनशक्तिको समस्या । के सरकार युवाका यी समस्याहरुसंग अन्तरक्रियित छ ? के सरकारले विद्यार्थी युवाहरुका यी समस्याहरुलाई नजिकैबाट नियाल्ने प्रयास समेत गरेको छ ?

शिक्षाको नाममा जतातै राजनीति छ । राहत अनुदान कोटा, बाल विकास, तथा दरवन्दी वितरण देखि शिक्षक सरुवा बढुवा र नियुक्तिमा समेत ठाडो राजनीतिक हस्तक्षेप हुन्छ । विद्यालय व्यवस्थापन समिति, जिल्ला शिक्षा समितिको गठन, भवन निर्माण र अन्य सरकारी अनुदान वितरणमा समेत राजनीति दलहरुको चरम हस्तक्षेप देखिन्छ जसले गर्दा अवसर र सुविधाको समान वितरण हुन सकेको छैन । कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या देखाएर लाखौं रुपैया हिना मिना हुँदा समेत सरकार देखेको नदेखि गरेर मौन बस्न रुचाउँछ । राजनीतिक प्रभावका कारणले महिनौसम्म पनि विद्यालय, र क्याम्पस–कलेजमा पठनपाठन बन्द हुने गर्नछन् । क्याम्पस–कलेजमा ताला लाग्ने गर्छन् । नेपालमा योग्यता होइन राजनीतिक भागबन्डामा पदाधिकारीको नियुक्ति हुने गर्दछ । यस्तो प्रवृत्तिले शिक्षालाई उद्देश्यहीन र शिक्षा क्षेत्रमा विकास हुनुको साटो सिंगो शैक्षिक प्रणाली नै कमजोर हुने क्रम बढेको देखिन्छ ।

नेपालको विद्यालय शिक्षा प्रणालीमा दुई प्रमुख धारा छन्, सरकारी र निजी । सरकारी विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरू मुख्यतः निम्न आय भएका परिवारका हुन्छन्, जहाँ पाठपुस्तक समयमा पुग्दैन, प्रविधिको पहुचँ अत्यन्त न्यून छ । दुर्गम भेगका कयौँ विद्यालयहरुमा शिक्षक छन्, तर उनीहरुसंग तालिम छैन । पाठयपुस्तक छ, तर प्रयोगशाला छैन् । पढाउने समय छ, भवन छन तर विद्यार्थी नै छैनन् । यातायातको सुविधा समेत नभएका ग्रामीण क्षेत्रका विद्यालयहरूमा आधारभूत सुविधाहरू छैनन् । प्रशिक्षित र योग्य शिक्षकको अभाव छ ।

कुनै विषयको शिक्षक नआएमा कुनै अर्को विषयको शिक्षकलाई कक्षामा पठाउने उद्देश्यहीन प्रचलन आज पनि विद्यामान छ । सिकाइ सामग्रीको कमी हुनाले पनि विद्यार्थीहरू आवश्यक शिक्षा लिनबाट वञ्चित छन् । पारिवारी हैसियतअनुसार निजी विद्यालयमा जाने अवसर पाउने विद्यार्थीहरू भने तुलनात्मक रुपमा बढी शैक्षिक अवसर प्राप्त गर्छन् । यद्यपि निजी विद्यालयमा पनि गुणस्तरीय शिक्षा समानरुपमा पाइन्छ भन्ने ग्यारेटी छैन् । शुल्कमा आधारित शिक्षाले वर्गीय विभाजनलाई अझ गहिरो बनाएको देखिन्छ ।

कोरोना कहरले अहिलेको समयमा प्रविधिको आवश्यकता र प्रभाव दुवै उजगार गर्यो । हामी अन्य राष्ट्रको तुलनामा प्रविधिको पहुचँ र प्रयोगमा कति धरातलमा छौँ भन्ने कुरा विगतका २-४ वर्ष अगाडि पुन छर्लंग भयो । कोरोना महामारी पछि इन्टरनेट, डिजिटल कक्षा र अनलाइन स्रोतहरु शिक्षाको नयाँ स्वरुप बन्न थाले । तर, नेपालको अधिकांश विद्यालयहरु अझै पनि ब्यालकबोर्ड र कपी किताबमै सिमित छन् ।

धेरै विद्यालयहरुमा कम्प्युटर भए पनि इन्टरनेट छैन, इन्टरनेट भए शिक्षक तालिमयुक्त छैनन् । समय सयममा सरकारद्धारा शिक्षा प्रणालीको सुधारका विभिन्न योजना र नीति ल्याए पनि यथार्थमा योजना र कार्यान्वयनबीच ठूलो खाडल रहेको छ । भाषा, ताालिम, र प्रविधिको डरले उनीहरु नयाँ शिक्षण पद्धतिलाई सहज रुपमा अपनाउन सकिरहेका छैनन । नहोस पनि किन ? न त विगतमा ती शिक्षकहरुलाई प्रविधि सम्बन्धी विषयवस्तुमा ज्ञान दिइयो न त कुनै तालिम देशको त्यही परम्परागत पढाई जे सिकाइयो वर्तमान पनि त्यही लागू भयो ।

नेपालको शिक्षण प्रणाली अहिलेको समयमा सुधार नगरी चल्ने अवस्थामा छैन् । सैद्धान्तिक ज्ञानमात्र दिने शिक्षण प्रणालीले व्यवहाारिक जीवनको आवश्यकता पूरा गर्न सक्दैन । शिक्षामा गुणस्तर, समानता, र प्रविधिको प्रयोगलाई प्राथमिकता दिइनु अहिलेको समयको माग हो ।

भविष्यमा के गर्ने ?, भविष्यमा के बन्ने ? राष्ट्रका लागि कस्तो योगदान दिने ? र आफ्नो जीवन कसरी सुरक्षित राख्ने ? यस विषयमा आजको पिढी अन्योलमा छ । विद्यालय तहबाटनै शिक्षाले जीवनको एउटा बाटो देखाइदिनु पर्ने हो । तर त्यस्तो भएको छैन । यदि आज सुधार गरिएन भने, भोलिको पुस्ता बेरोजगारी, निराशा र अपुरो क्षमता बोकेर समाजमा प्रवेश गर्नेछ । शिक्षा केबल डिग्री होइन, जीवन जिउने सीप हुनुपर्छ भन्ने कुरा अब व्यवहारमा लागू गर्न ढिला नहोस् ।


प्रतिक्रिया दिनुहोस्