रोहन रसाइलीको ‘आमाको काख बिना’ सार्वजनिक

काठमाडौं – लोक तथा दोहोरी गायक रोहन रसाइलीको मर्मस्पर्शी सम्झनाले भरिएको नयाँ गीत ‘आमाको काख बिना’ सार्वजनिक भएको छ। जन्म दिने आमाको माया गुमाउनु पर्दाको पीडा र त्यससँग जोडिएका अधुरा सपना तथा जीवनका गहिरा अनुभूतिहरू यस गीतमार्फत प्रस्तुत गरिएको छ। गीतले आमाको अभावमा हुर्कनु परेको भावनात्मक यथार्थलाई चित्रण गरेको छ।

ढिलो–चाँडो यस्तो पीडा धेरैले भोग्नुपर्ने भए पनि कलाकारको व्यक्तिगत जीवनसँग जोडिएको अनुभूति यस गीतमा झन् गहिरो रूपमा व्यक्त गरिएको छ। यो गीत निवेण डिजिटल रेकर्ड स्टुडियोमा रेकर्ड गरिएको हो भने म्युजिक भिडियोमा वास्तविक जीवनका परिस्थितिहरू झल्किने दृश्यहरू समावेश गरिएका छन्। कथावस्तु यथार्थपरक शैलीमा उतारिएको छ, जसले दर्शकलाई भावुक बनाउने विश्वास गरिएको छ।

गीतको शब्द शरण हुमागाईंले लेखेका हुन् भने विष्णु तामाङले लय सिर्जना गरेका छन्। गीतमा रोहन रसाइली र करुणा राईको आवाज समावेश छ। संगीत संयोजन पनि विष्णु तामाङकै रहेको छ। भिडियो पक्षको निर्देशन कमल सिंह राईले गरेका हुन्।

अभिनयमा रोहन रसाइली, करुणा राई, शोभा रसाइली, सिवानी रिजाल (रसाइली), प्रदीप रसाइली लगायत बाल कलाकार आरोही रसाइली र अभि रसाइलीको सहभागिता रहेको छ। गीत करुणा राई अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भावनात्मक कथा बोकेको ‘आमाको काख बिना’ले आमाको माया र अभावको पीडा महसुस गर्ने सबैका लागि विशेष बन्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्