मनिषा लाम्गादे : सपनालाई सुरमा बदल्दै, संघर्ष, संगीत र सफलताको यात्रा – इ. वीरेन्द्र श्रेष्ठ


0
Shares

इ. वीरेन्द्र श्रेष्ठ, ताप्लेजुङ्

सपना देख्नु सबैको अधिकार हो, तर त्यो सपनालाई आफ्नो जीवनको उद्देश्य बनाएर संघर्ष, त्याग, अनुशासन र अथक मेहनतमार्फत वास्तविकतामा बदल्ने साहस भने सबैसँग हुँदैन। यही साहस, समर्पण र अटल इच्छाशक्तिको सुन्दर उदाहरण बन्न लागीपरेकी छिन् ताप्लेजुङकी प्रतिभाशाली गायिका मनिषा लाम्गादे। ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका–५ निवासी बुबा छत्र बहादुर लाम्गादे र आमा सरस्वती लाम्गादेको कोखबाट चौथो तथा कान्छी सन्तानका रूपमा जन्मिएकी मनिषा एक दाजु र दुई दिदीको मायामा हुर्किइन्। सानैदेखि तीक्ष्ण बुद्धि, आत्मविश्वासी स्वभाव र कला प्रतिको गहिरो मोहले उनलाई आफ्नै पुस्तामाझ फरक पहिचान दिलाएको थियो।

बाल्यकालदेखि नै गीत, संगीत, नृत्य र अभिनयमा असाधारण रुचि राख्ने मनिषाको अर्को ठूलो सपना थियो—एक दिन सफल टेलिभिजन प्रस्तोता (TV Jockey बन्ने। घरपरिवारमा उनी बारम्बार आफ्ना सपना सुनाउँथिन्, र ती सपना सुन्दा धेरैलाई त्यो बालसुलभ कल्पना जस्तो लाग्थ्यो। तर मनिषाका लागि त्यो केवल कल्पना थिएन, भविष्यको स्पष्ट लक्ष्य थियो। उनले फुङलिङ बजारस्थित नवज्योति स्कुलबाट प्राथमिक शिक्षा, त्यसपछी लिटिल बुद्ध र भानु जन मा। बि। हुँदै कञ्चन एकेडेमी बोर्डिङ स्कुलबाट एसएलसी तथा झापास्थित देवी कलेजबाट प्लस टु अध्ययन पूरा गरिन्। शिक्षा र कलालाई सँगसँगै अघि बढाउँदै उनले आफ्नो प्रतिभालाई निरन्तर निखार्दै लगिन्।

प्रख्यात गायिका अञ्जु पन्तलाई आफ्नो आदर्श र प्रेरणाको स्रोत मान्ने मनिषाले संगीतलाई केवल रहरका रूपमा होइन, जीवनको मार्गदर्शनका रूपमा रोजिन्। सरगम संगीतालय, बिर्तामोडमा संगीत प्रशिक्षक दीपक रायमाझीसँग औपचारिक संगीत प्रशिक्षण लिएपछि उनको गायन यात्राले नयाँ गति लियो। उनले बुझेकी थिइन्—प्रतिभा ईश्वरको उपहार हुन सक्छ, तर उत्कृष्टता भने कठोर अभ्यास, अनुशासन र निरन्तर सिकाइबाट मात्र प्राप्त हुन्छ।

उनको संघर्षले एउटा नयाँ खुड्किला उक्लिएको छ, जब उनले Purbanchal Got Talent Season–7 Singing Competition 2082 मा ताप्लेजुङ जिल्लाको प्रतिनिधित्व गर्दै प्रतियोगिताको फाइनलसम्म पुगेर Public Choice Award प्राप्त गरिन्। यो उपलब्धि उनको प्रतिभाको मात्र सम्मान थिएन, बरु उनले रोजेको कठिन यात्राको पहिलो सार्वजनिक विजय थियो। सफलतासँगै उनी अझ विनम्र बनिन् र आफूलाई थप सक्षम बनाउन ललितपुरको सातदोबाटोस्थित अलग आर्ट हब मा मण्डल साम्पाङ राईसँग संगीत प्रशिक्षण लिइरहेकी छन्। भविष्यमा संगीतमै उच्च शैक्षिक अध्ययन गरी नेपाली संगीत क्षेत्रमा व्यावसायिक रूपमा स्थापित हुने उनको दृढ अठोट छ।

गीतकार भीमकुमार ओझाको शब्द तथा संगीतकार सन्तोष बि।सी।को संगीतमा आफ्नै जन्मभूमि ताप्लेजुङको प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचान बोकेको गीतमा सन्तोष बि।सी।सँग युगल स्वर दिएर उनले आफ्नो मातृभूमिप्रतिको प्रेमलाई संगीतमार्फत अभिव्यक्त गरेकी छन्। जिल्ला तथा झापाका विभिन्न सांगीतिक कार्यक्रम तथा लाइभ कन्सर्टहरूमा उनले दिएको ऊर्जाशील प्रस्तुतिले हजारौँ दर्शक–श्रोताको मन जितिसकेको छ। प्रत्येक प्रस्तुति उनका लागि लोकप्रियता कमाउने माध्यम मात्र होइन, आफ्नो क्षमताको परीक्षा र निरन्तर सुधारको अवसर ठान्नेगरेकी छिन्।

मनिषा लाम्गादेको सपना भबिस्यको सफल गायिका बन्नुमा मात्र सीमित छैन। उनी आफ्नो कला र मेहनतबाट आर्जन गरेको आम्दानीको ठूलो हिस्सा असहाय, अनाथ, विपन्न तथा अवसरबाट वञ्चित बालबालिकाको शिक्षा, स्वास्थ्य र जीवनस्तर उकास्न समर्पित गर्ने महान् संकल्प बोकेर अघि बढिरहेकी छन्। उनी विश्वास गर्छिन्—सफलताको वास्तविक अर्थ आफू मात्र माथि उठ्नु होइन, अरूलाई पनि उठाउने आधार बन्नु हो। यही मानवीय सोच, अथक संघर्ष, लक्ष्यप्रतिको हठ, अनुशासन, त्याग र सेवाभावले मनिषा लाम्गादेलाई केवल भविष्यको एक सफल गायिका मात्र होइन, समाजका लागि प्रेरणादायी व्यक्तित्व बनाउनेछ। ताप्लेजुङको उज्यालो तारा बनेर नेपाली संगीतको आकाश हुँदै विश्वमञ्चसम्म आफ्नो पहिचान स्थापित गर्ने उनको यात्रा अवश्य सफल हुनेछ भन्ने विश्वास जागेको छ।


प्रतिक्रिया दिनुहोस्