केत्तकुम लिबाङ पाङ्पत सयङद्वारा एक करोडको शैक्षिक अक्षयकोष स्थापना 0 Shares काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गरेको छ । सयङले शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गरेको वेबसाइट विमोचन, शैक्षिक अक्षयकोष घोषणा तथा विद्यार्थी सम्मान कार्यक्रम मार्फत अक्षयकोष स्थापनाको औपचारिक घोषणा गरेको हो । आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै समुदायका जेहन्दार विद्यार्थीको उच्च शिक्षा, अनुसन्धान तथा सीप विकासमा पहुँच विस्तार गर्ने उद्देश्यले शैक्षिक अक्षयकोष स्थापना गरिएको हो ।अक्षयकोष स्थापना अभियानमा पाङ्पत लिबाङ वंशका दाजुभाइ तथा दिदीबहिनीहरूको आर्थिक योगदान रहेको सयङका अध्यक्ष लोकेश लिबाङले जानकारी दिए । उनका अनुसार अभियानमा सहभागीहरूले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम १ लाख ५० हजार रुपैयाँसम्म सहयोग गरेका छन् । अध्यक्ष लिबाङले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताए । “आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्नु र जेहन्दार विद्यार्थीलाई प्रत्साहन गर्नु हाम्रो मुख्य उद्देश्य हो । शिक्षा व्यक्तिगत विकासको आधार मात्र नभई समुदाय र भावी पुस्ताको भविष्य निर्माण गर्ने आधार पनि हो । त्यसैले दीर्घकालीन रूपमा शिक्षामा लगानी गर्ने संस्कार विकास गर्न आवश्यक छ,” उनले भने । सयङका अनुसार अक्षयकोषबाट जेहन्दार, आर्थिक रूपमा विपन्न तथा शिक्षाबाट वञ्चित हुने जोखिममा रहेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ । उच्च शिक्षा, अनुसन्धान तथा सीप विकासका क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थीलाई आवश्यकता र क्षमताका आधारमा सहयोग गर्ने योजना पनि रहेको छ । राष्ट्रिय आवश्यकता, वैज्ञानिक अनुसन्धान तथा सामाजिक प्रभावका दृष्टिले महत्वपूर्ण विषयमा अध्ययन तथा अनुसन्धान गर्ने विद्यार्थीलाई आर्थिक, प्राविधिक तथा प्रेरणामूलक सहयोग उपलब्ध गराउने लक्ष्यसमेत कोषले लिएको अध्यक्ष लिबाङले बताए ।त्यसैगरी स्थानीयस्तरमा शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गर्ने, सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गर्ने, पुस्तकालय तथा अध्ययन केन्द्र स्थापना गर्ने र आवश्यक शैक्षिक स्रोतसामग्री निर्माण तथा वितरणमा योगदान पुर्याउने योजना रहेको सयङले जनाएको छ । समुदायमा शिक्षा र चेतनाको विस्तारसँगै सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने तथा दीर्घकालीन रूपमा शिक्षामा लगानी गर्ने संस्कार निर्माण गर्नु अक्षयकोषको अर्को महत्वपूर्ण उद्देश्य रहेको सयङको भनाइ छ ।कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने तीन जना विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिल विक्रम नेम्बाङ ‘बैरागी काइँलाले’ उत्कृष्ट विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगद, प्रशंसापत्र र दोसल्लासहित सम्मान गरे । सम्मानित हुने विद्यार्थीमा ३.७० जीपीए प्राप्त गर्ने मिक्वाखोला गाउँपालिका–३, लिबाङ, ताप्लेजुङकी श्रुती लिम्बू, ३.५० जीपीए प्राप्त गर्ने सोही स्थानका कमल कुमार लिम्बू र ३.४० जीपीए प्राप्त गर्ने चैनपुर, संखुवासभाकी वर्षा लिम्बू रहेका छन् । विद्यार्थीको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले सयङले प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै आएको अध्यक्ष लिबाङले जानकारी दिए । विद्यार्थी सम्मान कार्यक्रमले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई थप प्रोत्साहन गर्नुका साथै समुदायमा शिक्षाको महत्व स्थापित गर्न र आगामी पुस्तालाई अध्ययन, ज्ञान तथा अनुसन्धानतर्फ प्रेरित गर्न सहयोग पुर्याउने उनको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथि तिल विक्रम नेम्बाङ ‘बैरागी काइँलाले’ शैक्षिक अक्षयकोष स्थापना र विद्यार्थी सम्मानजस्ता कार्यक्रमले विद्यार्थीको जीवनमा सकारात्मक प्रभाव पार्नुका साथै विद्या आर्जनमा थप सहयोग पुग्ने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा र विद्यार्थीको भविष्य निर्माणमा सहयोग पुर्याउने यस्ता रचनात्मक कार्यक्रम महत्वपूर्ण रहेको बताए । “शैक्षिक अक्षयकोष स्थापना, विद्यार्थी सम्मान र वेबसाइट विमोचनजस्ता रचनात्मक काम गर्नु अत्यन्तै बहादुरीको काम हो,” बैरागी काइँलाले भने, “यस्ता सकारात्मक र सिर्जनात्मक कार्यका लागि म आयोजक संस्थाको धेरै नै सराहना गर्दछु । ” उनले विद्यार्थीलाई प्रोत्साहन र सहयोग प्रदान गर्ने यस्ता कार्यक्रमले अध्ययनप्रतिको उत्साह बढाउनुका साथै उच्च शिक्षा तथा ज्ञान आर्जनको यात्रामा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा केत्तकुम लिबाङ पाङ्पत सयङको आधिकारिक वेबसाइटसमेत सार्वजनिक गरिएको थियो । सयङका अनुसार वेबसाइटमा संस्थाको इतिहास, वंशीय विवरण, संस्थागत संरचना, उद्देश्य, गतिविधि, सामाजिक तथा शैक्षिक कार्यक्रमलगायतका सामग्रीलाई डिजिटल रूपमा व्यवस्थित गरी अभिलेखीकरण गरिएको छ । नेपालका विभिन्न जिल्ला तथा विश्वका विभिन्न देशमा छरिएर रहेका पाङ्पत लिबाङ वंशका सदस्यलाई डिजिटल माध्यमबाट जोड्ने, आपसी सम्बन्ध र सम्पर्कलाई थप व्यवस्थित बनाउने तथा संस्थाका गतिविधि र ऐतिहासिक सामग्रीलाई दीर्घकालीन रूपमा सुरक्षित राख्ने उद्देश्यले वेबसाइट निर्माण गरिएको सयङले जनाएको छ । वेबसाइटमार्फत वंशीय इतिहास, संस्थाका गतिविधि, शैक्षिक अभियान, कार्यक्रम तथा आगामी योजनाबारे विश्वभर रहेका सदस्य, शुभेच्छुक तथा सरोकारवालाले सहज रूपमा जानकारी प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ । केत्तकुम लिबाङ पाङ्पत सयङले आफ्नो संस्थागत गतिविधिलाई वंशीय सम्बन्धमा मात्र सीमित नराखी इतिहास, संस्कृति, पहिचान, शिक्षा र भावी पुस्ताको भविष्य निर्माणसँग जोड्ने प्रयास गर्दै आएको जनाएको छ । सयङका अनुसार पाङ्पत लिबाङ वंशको इतिहास, पुर्खाको योगदान तथा सांस्कृतिक पहिचानको संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुका साथै शिक्षा र सामाजिक विकासका क्षेत्रमा संस्थागत योगदान पुर्याउने लक्ष्य राखिएको छ । अक्षयकोषलाई आगामी दिनमा थप विस्तार गर्दै दीर्घकालीन र स्थायी शैक्षिक सहयोगको आधार बनाउने योजना रहेको अध्यक्ष लिबाङले बताए । कार्यक्रममा याक्थुङ थरगत सहजीकरण समूहका अध्यक्ष नन्द कन्दङवालगायत विभिन्न याक्थुङ–लिम्बूसँग सम्बन्धित संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी र समुदायका सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले समुदायको सामाजिक तथा शैक्षिक विकासका लागि संस्थागत रूपमा अघि बढाइएको अक्षयकोष अभियान सकारात्मक र अनुकरणीय रहेको धारणा व्यक्त गरेका थिए । सयङले आगामी दिनमा अक्षयकोषलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै योग्य तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई निरन्तर सहयोग गर्ने जनाएको छ । साथै नेपाल तथा विश्वका विभिन्न स्थानमा रहेका पाङ्पत लिबाङ वंशका सदस्य, शुभेच्छुक तथा सहयोगीहरूलाई अभियानमा जोडिन आह्वानसमेत गरेको छ । “शिक्षामा लगानी, भावी पुस्ताको उज्यालो भविष्यको आधार” भन्ने भावनाका साथ अघि बढाइएको शैक्षिक अक्षयकोष अभियानले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई शिक्षा हासिल गर्ने अवसर उपलब्ध गराउनुका साथै समुदायमा शिक्षालाई दीर्घकालीन लगानीका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।