लिबाङ पाङ्पत सयङले एक करोडको शैक्षिक अक्षयकोष स्थापना गर्दै 0 Shares काठमाडौं । केत्तकुम लिबाङ पाङ्पत सयङले शिक्षामा पहुँच विस्तार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गर्ने भएको छ। सयङले आगामी २०८३ साल असोज १७ गते शनिबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजना गर्न लागेको “शैक्षिक अक्षयकोष घोषणा, वेबसाइट विमोचन तथा विद्यार्थी सम्मान कार्यक्रम” मार्फत अक्षयकोषको औपचारिक घोषणा गर्ने जनाएको छ। सयङका अध्यक्ष लोकेश लिबाङका अनुसार आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न तथा विद्यार्थीलाई उच्च शिक्षा, अनुसन्धान र सीप विकासका अवसरमा पहुँच पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको हो। अक्षयकोषमार्फत आर्थिक रूपमा विपन्न तथा शिक्षाबाट वञ्चित हुने जोखिममा रहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्य राखिएको छ। त्यस्तै राष्ट्रिय आवश्यकता, वैज्ञानिक अनुसन्धान तथा सामाजिक प्रभावका दृष्टिले महत्वपूर्ण विषयमा अध्ययन तथा अनुसन्धान गर्ने विद्यार्थीलाई आर्थिक, प्राविधिक तथा प्रेरणामूलक सहयोग उपलब्ध गराउने योजना रहेको अध्यक्ष लिबाङले बताए। कोषले स्थानीय स्तरमा शैक्षिक गुणस्तर सुधार गर्न तथा सीपमूलक तालिम सञ्चालन गर्न सहयोग गर्ने, पुस्तकालय तथा अध्ययन केन्द्र स्थापना एवं शैक्षिक स्रोत सामग्री निर्माण तथा वितरणमा योगदान गर्ने लक्ष्यसमेत राखेको छ। त्यसैगरी समुदायमा शिक्षा, चेतना र सामाजिक उत्तरदायित्वको भावना विकास गर्दै दीर्घकालीन रूपमा शिक्षामा लगानी गर्ने संस्कार निर्माण गर्ने उद्देश्य अक्षयकोषको रहेको सयङले जनाएको छ। विद्यार्थीलाई वार्षिक सम्मानकार्यक्रममा देशभरबाट छनोट भएका उत्कृष्ट एक छात्र र एक छात्रालाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिने भएको छ। विद्यार्थीको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सम्मान प्रत्येक वर्ष प्रदान गरिने आयोजकले जनाएको छ। सयङका अनुसार विद्यार्थी सम्मान कार्यक्रमले उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै समुदायमा शिक्षाको महत्व स्थापित गर्न र आगामी पुस्तालाई अध्ययन तथा ज्ञानतर्फ प्रेरित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। वेबसाइट सार्वजनिक गरिँदै कार्यक्रममा केत्तकुम लिबाङ पाङ्पत सयङको आधिकारिक वेबसाइटसमेत विमोचन गरिने भएको छ। वेबसाइटमार्फत सयङको इतिहास, संस्थागत संरचना, गतिविधि, वंशीय विवरण, सामाजिक तथा शैक्षिक कार्यक्रमलगायतका जानकारीलाई डिजिटल रूपमा व्यवस्थित गरी सार्वजनिक गरिने आयोजकले जनाएको छ। विश्वका विभिन्न देश तथा नेपालका विभिन्न जिल्लामा छरिएर रहेका पाङ्पत लिबाङहरूलाई डिजिटल माध्यमबाट जोड्ने तथा संस्थाका गतिविधिलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने उद्देश्यले वेबसाइट निर्माण गरिएको बताइएको छ। सयङले कार्यक्रमलाई प्रभावकारी बनाउन देश तथा विदेशमा रहेका पाङ्पत लिबाङलगायत शिक्षा, संस्कृति, सामाजिक सेवा तथा सामुदायिक विकासका क्षेत्रमा क्रियाशील व्यक्तित्व, शुभेच्छुक तथा सरोकारवालालाई कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेको छ। कार्यक्रम असोज १७ गते शनिबार बिहान ९ बजे सिलौटो कटेज, अनामनगर, काठमाडौंमा आयोजना हुनेछ। कार्यक्रमको आयोजना केत्तकुम लिबाङ पाङ्पत सयङ केन्द्रीय समितिले गर्नेछ भने व्यवस्थापन केत्तकुम लिबाङ पाङ्पत सयङ उपत्यका शाखा समितिले गर्ने जनाएको छ।