छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३ भव्य रूपमा सुरु


0
Shares

काठमाडौं, जेठ १७ । नेपालका आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, इतिहास र जीवनदर्शनलाई चलचित्रमार्फत प्रवर्द्धन गर्ने उद्देश्यसहित छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३ काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहल, चावहिलमा भव्य रूपमा सुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका हुन् । कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेन, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्का उपाध्यक्ष अमृतबहादुर सुनुवार, पूर्व प्रदेशसभा सदस्य रिता माझी, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बालगायत विभिन्न समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उद्घाटन समारोहमा विभिन्न आदिवासी जनजाति समुदायका मौलिक सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएका थिए ।


महोत्सवमा कथानक चलचित्रतर्फ “रीत”, “स्वयनगु”, “ङोल्स्यो रामरानी”, “ह्याङ तामाङ” र “दिलसरा” प्रदर्शन गरिनेछ भने लघु चलचित्रतर्फ “तङ्सिङ”, “दुखला ग्यम”, “बेटी जाइछै सौसरा”, “निको पहिचान” र “लाहुरेनी” समावेश छन् । साथै “आग्रे”, “लदि पुजा” तथा एआई प्रविधिबाट निर्मित “बिराटनगरके प्राचिन राजवंशी” वृत्तचित्र पनि प्रदर्शन गरिनेछन् ।


महोत्सव निर्देशक सागर केरुङका अनुसार आदिवासी चलचित्र केवल मनोरञ्जनको माध्यम नभई समुदायको सामूहिक स्मृति, सांस्कृतिक चेतना, मौलिक ज्ञान–परम्परा र अस्तित्वको जीवित अभिलेख हो । उनले आदिवासी चलचित्र महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्र आन्दोलनको उदीयमान केन्द्रका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय चलचित्रकर्मी, अनुसन्धानकर्ता र सांस्कृतिक अभियन्ताबीच नयाँ संवाद र सहकार्यको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।


महोत्सवमा उत्कृष्ट चलचित्र, निर्देशक, स्क्रिप्ट, अभिनेता, अभिनेत्री, छायांकन, वृत्तचित्र, लघु चलचित्र, जुरी अवार्ड तथा प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । आयोजकले आदिवासी जनजातिका कथा, भाषा, संस्कृति र पहिचानलाई केन्द्रमा राख्ने यस महोत्सवमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण चलचित्रप्रेमी तथा सरोकारवालालाई आग्रह गरेको छ


प्रतिक्रिया दिनुहोस्