लक्ष्मी कार्की र सन्तोष बिसिको नयाँ सांगीतिक कोशेली “जाले रुमाल” सार्वजनिक


852
Shares

काठमाडौं । नेपाली सांगीतिक बजारमा नयाँ स्वाद बोकेको “जाले रुमाल” बोलको गीत सार्वजनिक भएको छ। पूर्व न्यायाधीश भीमकुमार ओझा र गायिका लक्ष्मी कार्कीको संयुक्त निर्माणमा तयार भएको उक्त गीत ‘भिमकुमार ओझा’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१०, फुरुम्बु (मयाम) मा जन्मिएकी मिठो स्वरकी धनी गायिका लक्ष्मी कार्कीको यो दोस्रो सांगीतिक प्रस्तुति हो। “जाले रुमाल” मा उनको सुमधुर स्वरलाई संगीतकार तथा गायक सन्तोष बिसिले सशक्त साथ दिएका छन्। सन्तोष बिसि पनि ताप्लेजुङकै पाथीभरा याङवरक गाउँपालिका–थुम्बेदिनका प्रतिभाशाली सर्जक हुन्, जो निरन्तर संगीत साधनामा सक्रिय छन्।

गीतका शब्द भीमकुमार ओझाकै हुन् भने संगीत सन्तोष बिसिले भरेका हुन्। नारायण दङ्गालको संगीत संयोजनमा पूर्वाञ्चल स्टुडियो, इटहरी र शंकरा स्टुडियो, काठमाडौंमा अडियो निर्माण सम्पन्न गरिएको हो।

म्युजिक भिडियोतर्फ चर्चित मोडल तथा अभिनेता सुधिर श्रेष्ठ र अभिनेत्री रिना थापा मगरको आकर्षक अभिनय मुख्य आकर्षण बनेको छ। विशेषगरी सुधिर श्रेष्ठको अभिव्यक्तिपूर्ण प्रस्तुति र स्क्रिन प्रेजेन्सले भिडियोलाई थप जीवन्त बनाएको देखिन्छ। महेश महराको सिनेमाटोग्राफी, अमृत चापागाईंको कलर एडिट तथा राजाराम सिंखडाको कोरियोग्राफीले भिडियोको सौन्दर्यलाई अझ उचाइमा पुर्‍याएको छ।

यसअघि पनि सन्तोष बिसि र लक्ष्मी कार्कीको जोडीले “बरि लै” बोलको गीतमार्फत दर्शक–श्रोताको मन जितिसकेको थियो। “जाले रुमाल” ले उनीहरूको सांगीतिक यात्रालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। मौलिक पञ्चेबाजामा आधारित “जाले रुमाल” ले नेपाली लोकसंस्कृतिको मिठास र मौलिकतालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। यस्ता लोकगीतको सिर्जना र प्रस्तुतिले नेपाली संगीत उद्योगलाई थप ऊर्जा दिने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस्