प्रेक्षा गौतम : साधना, सिर्जना र सुरको अविरल यात्रा – इ. बिरेन्द्र श्रेष्ठ 0 Shares नेपाली संगीत क्षेत्रमा आफ्नो सुमधुर स्वर, मौलिक सिर्जना र निरन्तर साधनाका माध्यमबाट विशिष्ट परिचय स्थापित गर्न सफल नाम हो प्रेक्षा गौतम। गायन, संगीत सिर्जना र शास्त्रीय संगीतप्रतिको समर्पणले उनलाई नेपाली सांगीतिक यात्रामा अलग पहिचान दिलाएको छ। तीन सयभन्दा बढी गीतमा आफ्नो स्वर भरेकी प्रेक्षा आजको पुस्ताकी मेहनती, अध्ययनशील र बहुआयामिक गायिकामध्ये एक मानिन्छिन्। प्रेक्षा गौतमको जन्म पाँचथर जिल्लामा भएको हो भने उनको बाल्यकाल र किशोरावस्था धरानमा बित्यो। अस्थायी बसोबास मोरङमा छ भने स्थायी बसोबास काठमाडौंको बुढानिलकण्ठमा छ। पूर्वी नेपालको सांगीतिक वातावरणमा हुर्किंदै जाँदा संगीतप्रतिको मोह अझ प्रगाढ बन्दै गयो। औपचारिक रूपमा उनले स्नातक तहमा संगीत विषय अध्ययन गरिन्। शैक्षिक अध्ययनसँगै निरन्तर रियाजलाई जीवनको अभिन्न हिस्सा बनाएकी उनले संगीतलाई केवल पेशा होइन, साधनाका रूपमा आत्मसात् गरेकी छन्।उनको सांगीतिक यात्राको प्रारम्भिक जग प्रियदर्शी विनोद राईबाट निर्माण भयो, जसलाई उनी आफ्नो पहिलो गुरुका रूपमा सम्मानपूर्वक स्मरण गर्छिन्। त्यसपछि गुरुदेव कामत र प्रभुराज ढकालको मार्गदर्शनमा उनले गायनका विविध आयाम सिक्ने अवसर पाइन्। अहिले उनी हिन्दुस्तानी शास्त्रीय संगीतका प्रतिष्ठित प्रशिक्षक कौशिक वर्मासँग नियमित प्रशिक्षण लिइरहेकी छन्। यही निरन्तर अध्ययन र अभ्यासले उनको स्वरलाई अझ परिपक्व, गहिरो र भावपूर्ण बनाउँदै लगेको छ।प्रेक्षाको सांगीतिक यात्रामा ूब्राइटर तिम्रो सुरू कार्यक्रमले महत्त्वपूर्ण मोड ल्यायो। त्यसपछि उनले आफ्नो प्रतिभालाई अझ फराकिलो मञ्चमा प्रस्तुत गर्ने अवसर पाइन्। वि।सं। २०६१ सालमा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गर्नु उनको जीवनको अर्को उल्लेखनीय उपलब्धि बन्यो। रेडियो नेपालको स्वर परीक्षा नेपाली संगीत क्षेत्रमा एउटा प्रतिष्ठित मानकका रूपमा लिइने भएकाले यस सफलताले उनको प्रतिभालाई राष्ट्रिय रूपमा स्थापित गरायो। उनको पहिलो सांगीतिक एल्बम अन्तराूले श्रोता तथा संगीतप्रेमीमाझ सकारात्मक छाप छोड्यो। त्यसयता उनले करिब तीन सयभन्दा बढी गीतहरूमा स्वर दिइसकेकी छन्। लोक, आधुनिक, राष्ट्रिय भावना, सांस्कृतिक चेतना र समसामयिक विषयवस्तुमा आधारित गीतहरूमा उनको स्वर उत्तिकै प्रभावशाली रूपमा गुन्जिएको छ।उनले गाएका फूलजस्ती र जुनजस्तीूजस्ता एकल गीतहरू श्रोतामाझ अत्यन्त लोकप्रिय बने। विशेषतः फूलजस्ती गीतका लागि उनले सर्वोत्कृष्ट महिला गायिका (Best Vocal Female Singer) सम्मान प्राप्त गरिन्, जसले उनको सांगीतिक योगदानलाई थप उचाइ प्रदान गर्यो।गायिकाका रूपमा मात्र होइन, संगीतकारका रूपमा पनि प्रेक्षा उत्तिकै सक्रिय छिन्। उनले करिब डेढ दर्जन गीतमा संगीत सिर्जना गरिसकेकी छन्। उनको संगीतमा मौलिकता, शब्दको भावअनुसारको लय र श्रोताको मन छुने सरलता पाइन्छ। यही कारण उनका सिर्जनाहरू समयसँगै थप लोकप्रिय हुँदै गएका छन्। प्रेक्षाले आफ्नै स्वरमा मात्र सीमित नभई अन्य चर्चित कलाकारका लागि पनि संगीत सिर्जना गरेकी छन्। नेपाली संगीतका चर्चित गायक स्वरूप आचार्य र प्रेक्षाको स्वरमा रहेको”बुद्ध तिम्रो देशमा, शान्ति रोएको छ” गीतले राष्ट्रिय संवेदना र सामाजिक यथार्थलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ। त्यस्तै”देशै रमाइलो”, “भरिया”, र “भालेको डाकमा मादलु बज्यो” जस्ता गीतहरूले पनि श्रोताको मन जितेका छन्।प्रेक्षा गौतमको सांगीतिक जीवनको सबैभन्दा ठूलो विशेषता भनेको निरन्तर सिक्ने चाहना हो। लामो समयदेखि सक्रिय भएर सयौँ गीत गाइसक्दा पनि उनी आज पनि दैनिक रियाज, अध्ययन र शास्त्रीय संगीतको अभ्यासमा उत्तिकै समर्पित छिन्। उनको विश्वास छ—संगीतमा सफलता अन्तिम गन्तव्य होइन, निरन्तर साधना नै वास्तविक यात्रा हो।आज प्रेक्षा गौतम नेपाली संगीत क्षेत्रमा एक सफल गायिका, सर्जक, संगीतकार र साधकका रूपमा स्थापित छिन्। पाँचथरको माटोबाट सुरु भएको उनको सांगीतिक यात्रा धरान हुँदै राष्ट्रिय संगीत जगतसम्म आइपुगेको छ। भविष्यमा पनि नेपाली संगीतलाई अझ समृद्ध, गुणस्तरीय र विश्वसामु चिनाउने उनको अठोट निरन्तर अगाडि बढिरहेको छ। उनको स्वर, सिर्जना र साधनाले नेपाली संगीतको इतिहासमा एउटा प्रेरणादायी अध्याय लेखिरहने विश्वास गर्न सकिन्छ।