रसुवा बाढीको मुहान क्षेत्रमा फेरि नदी थुनिएर ताल बन्यो, फुट्ने जोखिमको चेतावनी 0 Shares काठमाडौँ – रसुवा बाढीको मुहान क्षेत्र तिब्बतमा नदी थुनिएर फेरि ताल बनेको छ। सरकारको बाढी पूर्वानुमान महाशाखाले हिजो बाढी उत्पन्न भएको क्षेत्रमा नदी थुनिएर ताल बनेकाले फुट्ने जोखिम रहेको विशेष सूचनामार्फत जानकारी दिएको छ। चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू–उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषण अनुसार, हिजो भाद्र १० मा बाढी सृजना भएको स्थानमा नदी थुनिएर ताल बनेको महाशाखाले जनाएको छ। उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिमसमेत देखिएको उक्त सूचनामा जनाइएको छ। अर्को सूचना जारी नहुँदासम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित रहन अनुरोध गरिएको छ।