व्यवहारिक सडक मापदण्डले समेटिने ऐतिहासिक फुङलिङ बजारको अस्तित्व


15k
Shares

इ. वीरेन्द्र श्रेष्ठ – ताप्लेजुङ

फुङलिङ केवल एउटा बजार मात्र होइन, पूर्वी नेपालको सामाजिक, आर्थिक, प्रशासनिक र सांस्कृतिक जीवनको केन्द्र हो। फुङलिङ बजारको इतिहास नियाल्दा, ईतिहासकार राजेश्वर थापाका अनुसार बि.सं. १९५२ मा लप्टन पुर्ण बहादुर खत्रीको नेतृत्वमा अमिन स्थापना भएको र सो पस्चात बजार सुरु भएको भनाई छ। फुङलिङलाई पहिला अमिनी भन्ने पनि गरिन्थ्यो। सदियौँदेखि व्यापार, शिक्षा, प्रशासन, आवागमन र पहिचानको साझा थलो बनेको यो बजार अहिले राष्ट्रिय राजमार्ग विस्तारको बहससँगै आफ्नो अस्तित्व बचाउन याचना गरिरहेको छ। विकासको नाममा यदि ऐतिहासिक पहाडी बजारहरूलाई नै उजाड बनाइयो भने त्यो केवल भौतिक क्षति मात्र होइन, सामाजिक संरचना, स्थानीय अर्थतन्त्र, सांस्कृतिक निरन्तरता र मानव जीवनमाथिको गम्भीर प्रहार हुनेछ।

हाल प्रस्तावित ३० मिटर चौडाइको राजमार्गको मापदण्डलाई यदि फुङलिङको कोर बजारभित्र यथावत लागू गरियो भने बजारका ठूलो संख्याका घर, पसल र संरचनाहरू पूर्ण रूपमा प्रभावित हुने निश्चित देखिन्छ। अझ गम्भीर कुरा के छ भने पहाडी भूगोलका कारण सडकको दायाँबायाँ नयाँ घर निर्माण गर्न पर्याप्त समथर जमिन नै उपलब्ध नहुने अवस्था छ। फलतः पुस्तौँदेखि बसोबास गर्दै आएका परिवारहरू विस्थापित हुने, आफ्नो सम्पूर्ण जीवनभरको कमाइ लगानी गरेर घरजग्गा किनेकाहरू उठिबास हुने, र हजारौँ मानिसको जीविकोपार्जन नै संकटमा पर्ने अवस्था सिर्जना हुनेछ अनि ऐतिहासिक अस्तित्व बोकेको बजारलाई बिस्थापित गराएर चौडा सडक कसका अनि के का लागि?

विकासको उद्देश्य जनताको जीवन सहज बनाउनु हो, जनतालाई नै विस्थापित गर्नु होइन। त्यसैले फुङलिङ बजार क्षेत्रमा राजमार्गको मापदण्ड व्यवहारिक रूपमा १५ मिटर कायम गर्दै, पूर्ण मापदण्डअनुसारको मुख्य राजमार्गलाई बजार नजिकैबाट “बाइपास” गरिने दीर्घकालीन योजना अवलम्बन गर्नु नै अहिलेको सबैभन्दा उपयुक्त विकल्प देखिन्छ।

पहाडी भूगोल र तराईको मापदण्ड एउटै हुन सक्दैन:
नेपालको सबैभन्दा ठूलो नीतिगत कमजोरीमध्ये एक “सम मापदण्ड” लागू गर्ने प्रवृत्ति हो। तराईको समथर भूगोलमा उपयुक्त हुने सडक चौडाइ, संरचना र शहरी योजना पहाडमा जस्ताको तस्तै लागू गर्न खोज्नु प्राविधिक रूपमा पनि त्रुटिपूर्ण छ।
अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि पहाडी तथा ऐतिहासिक शहरहरूमा “Context Sensitive Road Design” अपनाइन्छ। अर्थात् सडकको डिजाइन भूगोल, बस्तीको घनत्व, सांस्कृतिक महत्व, वातावरणीय प्रभाव र सामाजिक असरका आधारमा निर्धारण गरिन्छ। जापान, स्विटजरल्याण्ड, भुटान जस्ता पहाडी देशहरूले पुराना बजार र बस्ती जोगाउन कोर शहरभित्र सडकको चौडाइ सीमित राख्दै बाहिरी क्षेत्रमा बाइपास निर्माण गर्ने नीति अपनाएका छन्।

नेपालमै पनि धेरै ऐतिहासिक बजारहरू-जस्तै बन्दिपुर, तानसेन, धुलिखेल – को संरक्षणमा स्थानीय विशेषतालाई महत्व दिइएको पाइन्छ। त्यसैले फुङलिङलाई केवल “राजमार्गको लाइन” का रूपमा होइन, “जीवित पहाडी शहर” का रूपमा हेर्न आवश्यक छ।

३० मिटर चौडाइको प्रभाव : विकास कि विनाश?
३० मिटर सडकको अर्थ केवल सडक होइन; त्यसले घर, पसल, होटल, विद्यालय, मठमन्दिर, खानेपानी लाइन, विद्युत संरचना, ढल प्रणाली, सामाजिक सम्बन्ध र स्थानीय अर्थतन्त्र सबैलाई प्रत्यक्ष असर पार्छ।

फुङलिङजस्तो साँघुरो पहाडी बजारमा यस्तो चौडाइ लागू गर्दा:

अधिकांश पुराना घर भत्किने,
व्यापारिक गतिविधि अवरुद्ध हुने,
घरधनी तथा साना व्यवसायी विस्थापित हुने,
भाडामा बस्ने परिवार प्रभावित हुने,
जग्गाको कृत्रिम मूल्यवृद्धि र दलाली बढ्ने,
कमजोर आर्थिक वर्ग झन् सहरबाहिर धकेलिने,
बसाइँसराइ अझ बढ्ने,
जस्ता गम्भीर सामाजिक असरहरू देखिन सक्छन्।

अझै, बजार क्षेत्र भित्र, पहाड काटेर चौडा सडक बनाउँदा भूक्षय, पहिरो, ड्रेनेज अवरोध र वातावरणीय अस्थिरता बढ्ने खतरा पनि उत्तिकै उच्च हुन्छ। त्यसैले केवल “चौडा सडक = विकास” भन्ने सोच अहिलेको आधुनिक शहरी तथा यातायात योजनामा पुरानो भइसकेको छ।

१५ मिटर कोर बजार मापदण्ड किन व्यवहारिक छ?
फुङलिङको कोर बजार क्षेत्रमा १५ मिटर चौडाइको व्यवस्थित सडकले:

दुईतर्फी यातायात सञ्चालन,
पैदलमार्ग,
साना पार्किङ क्षेत्र,
आपतकालीन सेवा पहुँच,
बजारको आर्थिक गतिविधि,
सञ्चालन गर्न पर्याप्त आधार दिन सक्छ।

व्यवस्थित ट्राफिक व्यवस्थापन, एकतर्फी यातायात प्रणाली, सीमित पार्किङ, स्मार्ट ड्रेनेज र फुटपाथ निर्माण गरियो भने १५ मिटर चौडाइ पनि प्रभावकारी हुन सक्छ। विश्वका धेरै पुराना पहाडी शहरहरू अझै ८–१२ मिटर सडक चौडाइमै सफलतापूर्वक सञ्चालन भइरहेका उदाहरण छन्।

यसका साथै कोर बजारमा भारी सवारीको प्रवेश सीमित गर्दै मुख्य मालवाहक तथा लामो दूरीका सवारीलाई बाइपासमार्फत सञ्चालन गर्न सकिन्छ। यसले बजारको चाप पनि घटाउँछ र व्यवसायिक वातावरण पनि जोगाउँछ।

बाइपास : दीर्घकालीन समाधान
राजमार्गको मूल उद्देश्य तीव्र, सुरक्षित र निरन्तर यातायात हो। बजारभित्र घुमाएर राजमार्ग लैजाँदा:

ट्राफिक जाम,
दुर्घटना जोखिम,
धुलो–धुवाँ,
व्यवसायिक अव्यवस्था,
बढ्ने सम्भावना रहन्छ।

त्यसैले पूर्ण मापदण्डअनुसारको राजमार्गलाई बजार नजिकैबाट बाइपास गरिनु नै दीर्घकालीन रूपमा उपयुक्त हुन्छ। कोर बजारलाई “Urban Street” का रूपमा र बाहिरी मार्गलाई “Highway Corridor” का रूपमा विकास गर्ने अवधारणा अहिले विश्वभर स्वीकृत मोडल हो।

यदि अहिले दूरदर्शी निर्णय लिन सकिएन भने भविष्यमा:

अनियन्त्रित विस्थापन,
महँगो पुनःनिर्माण,
कानुनी विवाद,
सामाजिक असन्तोष,
बढ्दै जानेछ।

विकासमा सामाजिक न्याय पनि आवश्यक:
राज्यको दायित्व केवल पूर्वाधार निर्माण होइन; नागरिकको सम्मान, सम्पत्ति र जीवनयापनको सुरक्षा पनि हो। विकासको नाममा कमजोर वर्गलाई विस्थापित गरेर, उचित पुनर्स्थापना नगरी, स्थानीय समुदायको सहमति बेवास्ता गरेर बनाइने आयोजना अन्ततः दीर्घकालीन विवादको कारण बन्छन्।

फुङलिङका धेरै परिवारले वैदेशिक रोजगारी, जीवनभरको बचत वा पुर्ख्यौली सम्पत्ति बेचेर बजार क्षेत्रमा घरजग्गा जोडेका छन्। यदि उचित विकल्प बिना ती संरचना हटाइए भने उनीहरूको आर्थिक भविष्य मात्रै होइन, सामाजिक पहिचानसमेत संकटमा पर्नेछ।

यसर्थ:

सामाजिक प्रभाव मूल्यांकन,
स्थानीय परामर्श,
चरणबद्ध विकास,
न्यायोचित क्षतिपूर्ति,
पुनर्स्थापना योजना,
लाई अनिवार्य बनाइनुपर्छ।

राजनीतिक नेतृत्वको जिम्मेवारी:
यो विषय केवल प्राविधिक बहस होइन; यो राजनीतिक संवेदनशीलताको प्रश्न पनि हो। स्थानीय जनताको आवाज सुन्नु, दीर्घकालीन असर बुझ्नु र केन्द्रमा व्यवहारिक विकल्प राख्नु राजनीतिक नेतृत्वको जिम्मेवारी हो।

यदि राजनीतिक दलहरू केवल “ठूलो सडक ल्यायौँ” भन्ने प्रचारमा सीमित भए भने त्यसले स्थानीय समाजमा गहिरो अविश्वास पैदा गर्न सक्छ। विकासलाई जनमैत्री, भूगोलमैत्री र भविष्यदर्शी बनाउन सकियो भने मात्र त्यसले जनसमर्थन पाउँछ।

अत: ऐतिहासिक फुङलिङ बजारको संरक्षण कुनै विकास विरोधी सोच होइन; यो दिगो, सन्तुलित र मानवीय विकासको माग हो। पहाडी भूगोल, ऐतिहासिक बजारको अस्तित्व, स्थानीय अर्थतन्त्र र नागरिकको जीवनयापनलाई बेवास्ता गरेर बनाइने पूर्वाधार अन्ततः असन्तुलित विकासको उदाहरण मात्र बन्न सक्छ।

त्यसैले:

कोर बजार क्षेत्रमा १५ मिटर मापदण्ड,
भारी सवारीका लागि बाइपास,
ऐतिहासिक बजार संरक्षण,
सामाजिक न्यायसहितको पूर्वाधार विकास,
आजको आवश्यकता हो।

विकासले यदि मानिसलाई नै विस्थापित गर्‍यो भने त्यो विकास होइन; संरचनाको नाममा गरिएको सामाजिक क्षति मात्र हुनेछ। मौज्दात फुङलिङलाई अझ ब्यबस्थित, सुरक्षित साथै ऐतिहासिकता जोगाउँदै विकास गर्ने बुद्धिमत्ता नै आजको वास्तविक आवश्यकता हो।


प्रतिक्रिया दिनुहोस्