खिरको अलार्म बज्यो, तर हाम्रो घरमा ढक्कनेको सरकार बन्ने पक्का – इ.वीरेन्द्र श्रेष्ठ


0
Shares

इ.वीरेन्द्र श्रेष्ठ , ताप्लेजुङ्

साउन १५ गते। बिहानैदेखि सामाजिक सञ्जालमा खीरका तस्वीरको बाढी आयो। कतै किसमिसले सजिएको, कतै काजुले भरिएको, कतै चाँदीको वर्क टाँसिएको। लाग्थ्यो, नेपालभरिका गाई–भैंसीले आजको दिनका लागि एक वर्षदेखि दूध बचत गरेर राखेका रहेछन्। उता मेरो घरको किचनमा पनि ठ्याक्कै साउन १५ को खीर खाने अलार्मू त लागेको रहेछ। तर म भने आफ्नो पुरानै बानीअनुसार बल्लतल्ल बिहान ८ बजे किचनतिर पुगेँ। पुग्दा के देख्छु भन्ने उत्सुकता थियो, तर किचनमा न दूध उम्लिएको थियो, न चामल धुन सुरु भएको, न इलाइचीको सुगन्ध। एकछिन त लाग्यो, कतै आजको मिति नै गलत पो हेरेँ कि ।

त्यत्तिकैमा घरबाट आवाज आयो, ूयो पाली खीर होइन, ढक्कने पकाउने योजना छ। म पनि खुसी भएँ। आखिर एउटै संस्कृतिलाई सम्मान गर्ने हो भने खीरले मात्र किन एकलौटी शासन गर्नेरु लोकतन्त्रमा ढक्कनेलाई पनि अवसर दिनुपर्छ।

तर अर्को चिन्ता तुरुन्तै सुरु भयो। आफू शारीरिक रूपमा अलि अल्छी भएर होला, खानचाहिँ निकै मन पर्ने तर पकाउने बेला भने अचानक देशको अर्थतन्त्र, विश्व राजनीति र मोबाइलको स्क्रोलिङमा व्यस्त हुने बानी परेको छ। अब ढक्कनेमा त घिउ पनि राम्रै हाल्नुपर्छ। कतै त्यो घिउले तौलसँग गठबन्धन गरेर मलाई नै विपक्षी बनाइदिने पो हो कि ?

फेरि मनले अर्को तर्क दियो—ूघरमा त शुद्ध हिमालको चौरीको घिउ छ। त्यसले बनाएको ढक्कनेले बेफाइदा होइन, बरु आत्मासम्म खुशी बनाउँछ। हाम्रो नेपाली समाज पनि रमाइलो छ। वर्षभरि खीर खाए कसैले केही भन्दैन। तर साउन १५ मा खीर नखायो भने मानौं राष्ट्रिय संकट नै आयो। सामाजिक सञ्जालमा फोटो नराखे त झन् खीर नखाने नेपालीू को नागरिकता नै रद्द हुने अवस्था ।

तर संस्कृति भनेको केवल मितिमा बाँधिएको परिकार होइन। संस्कृतिको अर्थ पुस्तौंपुस्ताले जोगाएको जीवनशैली हो। जहाँ माया छ, परिवार छ, सँगै बसेर खाने चलन छ, त्यहीँ संस्कृति बाँच्छ। यही सन्दर्भमा ढक्कनेको पनि आफ्नै गौरव छ। ढक्कने कुनै साधारण खाना होइन। भुटेको वा हल्का सेकिएको चामलको पिठोलाई शुद्ध घिउमा बिस्तारै चलाउँदै, आवश्यक परे दूध वा तातो पानी थपेर पकाइन्छ। त्यसमा सख्खर वा चिनी मिसाइन्छ, कतै इलाइची, कतै नरिवल, कतै बदाम पनि हालिन्छ। अन्त्यमा घिउको सुवासले ढक्कनेलाई यस्तो बनाइदिन्छ कि भोक नभएको मान्छेले पनि ूएक चम्चा मात्रैू भन्दै सुरु गरेर थाल नै सफा पारिदिन्छ।

ढक्कनेको स्वादभन्दा पनि यसको आत्मीयता ठूलो हुन्छ। गाउँघरमा पाहुना आउँदा, सुत्केरीलाई शक्ति चाहिँदा, चिसो मौसममा शरीर तताउन वा परिवारसँग बसेर मिठो गफ गर्दै खान बनाइने यो परिकार नेपाली घरेलु संस्कृतिको सुन्दर परिचय हो। आज समस्या खीर र ढक्कनेको होइन। समस्या त हामी संस्कृतिलाई परिकारमा सीमित गर्दै गएकोमा छ। खीर खानेले ढक्कनेलाई होच्याउने, ढक्कने खानेले खीरलाई पुरानो सोच भन्ने हो भने दोष परिकारको होइन, हाम्रो सोचको हो।

अझ रमाइलो त राजनीति हेर्दा लाग्छ। त्यहाँ पनि सबैले आफ्नो ूखीरू मात्र मिठो देख्छन्। कसैले अर्काको भाँडोमा के पाकिरहेको छ भनेर बुझ्नै चाहँदैन। नतिजा—मिठासभन्दा धुवाँ बढी निस्किन्छ। समाज पनि कहिलेकाहीँ यस्तै हुन्छ। जात, भाषा, भूगोल, धर्म र विचारका नाममा हामी फरक–फरक भाँडामा पाक्न खोज्छौँ। तर अन्ततः हामी सबै एउटै चुलोको आगोले तातेका नेपाली हौँ।

साउन १५ ले हामीलाई सम्झाउने कुरा यही हो—भाँडो फरक हुन सक्छ, परिकार फरक हुन सक्छ, तर भोजन सँगै बसरे खान सक्ने संस्कार हराउनु हुँदैन। एकै थालमा बसेर खीर खाए पनि, ढक्कने खाए पनि, त्यो भोजनले सम्बन्ध जोड्नुपर्छ, दूरी होइन।

त्यसैले आज कसैले खीर पकाए शुभकामना दिनुस्। कसैले ढक्कने पकाए झन् दुई चम्चा बढी खानुस्। किनकि संस्कृतिको मापन परिकारले होइन, परिकार बाँड्ने मनले हुन्छ।

अन्त्यमा मेरो व्यक्तिगत निर्णय पनि सार्वजनिक गरिहालौँ। आज खीरको विपक्षमा होइन, ढक्कनेको पक्षमा मतदान गर्ने भएको छु। तर भोलिदेखि फेरि बिहान हिँड्ने, अलि कम खाने र बढी काम गर्ने संकल्प पनि सँगै गरेको छु। त्यो संकल्प कति दिन टिक्छ, त्योचाहिँ अर्को साउन १५ मा समीक्षा गरौँला । जेहोस्, आजको शुभकामना यही—हाम्रो भान्सामा मिठास रहोस्, परिवारमा आत्मीयता रहोस्, समाजमा सद्भाव रहोस्, संस्कृतिमा निरन्तरता रहोस् र नेपाल सधैं अखण्ड रहोस्। खीर होस् वा ढक्कने, स्वादभन्दा ठूलो कुरा सँगै बस्ने मन हो।


प्रतिक्रिया दिनुहोस्