हरितालिका तीज तथा ताप्लेजुङ नारी सम्मान कार्यक्रमको तयारी तीव्र, विभिन्न समिति गठन


0
Shares

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले आगामी २०८३ भदौ ६ गते काठमाडौंमा आयोजना हुने ूहरितालिका तीज तथा ताप्लेजुङ नारी सम्मान कार्यक्रम–२०८३ लाई व्यवस्थित, मर्यादित, भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ।

समाजका अध्यक्ष रमेश बरालका अनुसार कार्यक्रमको समग्र व्यवस्थापन, समन्वय र प्रभावकारी कार्यान्वयनका लागि मूल आयोजक समिति, विषयगत उपसमितिहरू, विशेष सहयोग तथा समन्वय (छाया) समिति तथा पालिका समन्वय समिति गठन गरिएको हो।

मूल आयोजक समितिको संयोजकमा सीता पौडेल दाहाल र सह–संयोजकमा अमृता नेपालीलाई जिम्मेवारी दिइएको छ। संयोजक दाहालले कार्यक्रमको समग्र नेतृत्व, योजना निर्माण, सञ्चालन, समन्वय तथा अनुगमनको जिम्मेवारी सम्हाल्नेछिन् भने सह–संयोजक नेपालीले कार्यक्रम व्यवस्थापन, उपसमितिहरूबीच समन्वय तथा अतिथि व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नेछिन्।

कार्यक्रमलाई प्रभावकारी बनाउन प्रचार–प्रसार, सांस्कृतिक कार्यक्रम, खानपान, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन, दर्ता तथा स्वागत, मञ्च तथा प्राविधिक व्यवस्थापन, नारी सम्मान छनोट, ज्येष्ठ नागरिक सम्मान, श्रृङ्गार स्टल, खानपान स्टल, महिला उद्यमी प्रदर्शनी तथा स्वास्थ्य सेवाजस्ता विषयगत उपसमितिहरू गठन गरिएको समाजले जनाएको छ। प्रत्येक उपसमितिको नेतृत्व सम्बन्धित क्षेत्रका संयोजकहरूलाई प्रदान गरिएको छ।

त्यसैगरी, कार्यक्रमको रणनीतिक सहजीकरण, स्रोत परिचालन, संस्थागत समन्वय तथा प्रायोजन व्यवस्थापनका लागि रमेश बरालको नेतृत्वमा विशेष सहयोग तथा समन्वय ९छाया० समिति गठन गरिएको छ। समितिमा विभिन्न क्षेत्रमा अनुभव भएका सदस्यहरूलाई प्रचार–प्रसार, आर्थिक स्रोत परिचालन, सांस्कृतिक समन्वय, सूचना प्रविधि, स्वास्थ्य, युवा परिचालन, सुरक्षा तथा आतिथ्य व्यवस्थापनको जिम्मेवारी तोकिएको छ।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा ताप्लेजुङका ६१ वटै वडाबाट सम्मान योग्य महिलाहरूको पहिचान तथा नामावली संकलन गर्न विशेष संयोजक कृष्ण केदेमको नेतृत्वमा पालिका समन्वय समिति गठन गरिएको छ। समितिअन्तर्गत जिल्लाका नौवटै स्थानीय तहका लागि छुट्टाछुट्टै पालिका संयोजक तोकिएका छन्।

उनीहरूको जिम्मेवारी सम्बन्धित पालिकाभित्र सम्मान योग्य महिलाको पहिचान, नामावली संकलन, सिफारिस, निमन्त्रणा वितरण तथा काठमाडौंमा रहेका ताप्लेजुङवासीसँग समन्वय गरी कार्यक्रममा अधिकतम सहभागिता सुनिश्चित गर्नु रहने समाजले जनाएको छ।

ताप्लेजुङ समाज–नेपालले जिम्मेवारी प्राप्त सबै पदाधिकारी, संयोजक, उपसमिति सदस्य, पालिका संयोजक, सहयोगदाता तथा स्वयंसेवकलाई सफल कार्यसम्पादनको शुभकामना व्यक्त गर्दै सम्पूर्ण ताप्लेजुङवासीलाई कार्यक्रम सफल बनाउन सक्रिय सहयोग, सहकार्य र सहभागिताका लागि आग्रह गरेको छ।

समाजका अनुसार यस वर्षको हरितालिका तीज कार्यक्रमसँगै आयोजना हुने ूताप्लेजुङ नारी सम्मान कार्यक्रम–२०८३ू ले जिल्लाका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका महिलाहरूको सम्मान गर्दै उनीहरूको योगदानलाई राष्ट्रिय स्तरमा उजागर गर्ने अपेक्षा गरिएको छ। साथै, काठमाडौंमा बसोबास गर्ने ताप्लेजुङवासीबीच आपसी सद्भाव, सांस्कृतिक एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास आयोजकले लिएको छ।


प्रतिक्रिया दिनुहोस्