चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु, बाटाघाटा सबै बन्द प्रकाशित मिति : 2 January, 2022 9:55 am काठमाडौं । चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको छ । जनजीवन नराम्ररी प्रभावित बनेको छ । मंगलबारदेखि बिहीबारसम्म भएको हिमपातसँगै बझाङको तापक्रम निकै घटेपछि कठ्यांग्रिएर छबिसपाथीभेरा–७ बुड्खोरीका ४३ वर्षीय जंग धामी र सुर्मा गाउँपालिका–१ दौलिचौरका किट्टु बोहराको मृत्यु भएको हो । धामी अर्को गाउँबाट राति घर फर्कंदै गर्दा बिहीबार बिहान नौपाते भन्ने ठाउँमा मृत फेला परेका थिए । मंगलबार गुरेना भन्ने गाउँमा गएका बोहरा बिहीबारसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा पदाली भन्ने ठाउँमा हिउँमा पुरिएको अवस्थामा मृत भेटिएका थिए । प्रारम्भिक अनुसन्धानबाट उनीहरू दुवैको मृत्यु जाडोले कठ्यांग्रिएर भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानबहादुर बिष्टले जानकारी दिनुभयो । लगातार दुई दिनसम्म भएको हिमपातपछि बझाङका अधिकांश हिमाली र पहाडी गाउँमा बाक्लो हिउँ जमेकोले दैनिक गतिविधि गर्न कठिनाइ भइरहेको हो । साइपाल, सुर्मा, छबिसपाथीभेरा गाउँपालिका तथा बुंगल र जयपृथ्वी नगरपालिकाका अधिकांश ठाउँमा जमेको हिउँ अझै पनि नपग्लिएको स्थानीयले बताएका छन् । ‘पानीका पाइप पनि जमेकाले धारामा पानी आएको छैन,’ साइपाल गाउँपालिका—५ न्युनाका उमेश बोहराले भने, ‘हिउँ पगालेर खाइरहेका छौं । हिउँले बाटाघाटा सबै पुरिएका छन् ।’