मेयरकप भलिबलमा तीन टोली बाहिरिए प्रकाशित मिति : 23 February, 2020 7:42 pm प्रयास लिम्बू ताप्लेजुङ, फागुन ११ गते । ताप्लेजुङमा महाशिवरात्री पर्व एवम् सेना दिवसको अवसरमा शनिबारदेखि सुरु भएको अन्तर पालिकास्तरीय मेयरकप भलिबल प्रतियोगितामा आइतबार तीन टोली बाहिरिएका छन् । प्रतियोगिताबाट फुङ्लिङ नगारपालिकाको टिम ‘बी’, पाथीभरा याङ्वरक र आठराई त्रिबेणी गाउँपालिका बाहिरिएका छन् । फुङ्लिङ नगरपालिकाको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा आइतबार मिक्वाखोला गाउँपालिकाले आठराई त्रिबेणीलाई २५–१५ र २५–२३ को सोझो सेटमा पराजित ग¥यो । फुङ्लिङ नगरपालिका ‘बी’ लाई सिरिजङ्घा गाउँपालिकाले स्तब्ध बनायो । पहिलो सेट फुङ्लिङ नगरपालिकाले २५–१९ ले जिते पनि दोस्रो र तेस्रो सेट क्रमशः २५–२२ र २५–२१ मा सिरिजङ्घाले जित निकाल्यो यस्तै पाथीभरा याङ्वरकलाई २५–२० र २५–१७ को सेटमा हराउँदै मेरिङ्देन गाउँपालिका दोस्रो चरणमा प्रवेश गरेको छ । पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको समयमा आयोजना गरिएको प्रतियोगितमा फुङ्लिङ नगरपालिकाको दुईसहित १० टोलीको सहभागिता रहेको छ । उपाधि बिजेताले दुई लाख एकहजार र उपविजेताले एक लाख एक हजार रुपियाँ नगद पुरस्कार पाउने छन् । त्यस्तै तृतीयले २५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने आयोजक फुङ्लिङ नगरपालिकाले जनाएको छ ।