मेस्सीबाट यमलसम्म : विरासतको त्यो अदभुत क्षण – इ.वीरेन्द्र श्रेष्ठ


1.6k
Shares

फुटबल केवल ९० मिनेटको खेल होइन। यो समय, भावना, स्मृति, संस्कृति र पुस्तान्तरणको एउटा जीवित इतिहास हो। यहाँ कहिलेकाहीँ एउटा गोलले इतिहास लेख्छ, त कहिलेकाहीँ एउटा तस्बिरले। समयसँगै सामान्य देखिएका क्षणहरू असाधारण अर्थ बोकेर फर्किन्छन्। लियोनेल मेस्सी र लामिन यमलको कथा त्यही दुर्लभ संयोगको जीवन्त उदाहरण हो। विश्व फुटबल फेरि एउटा ऐतिहासिक क्षणको प्रतीक्षामा छ। अर्जेन्टिना र स्पेन एउटै मैदानमा उभिँदा त्यो केवल दुई राष्ट्रबीचको प्रतिस्पर्धा हुनेछैनस त्यो एउटा युगले अर्को युगसँग संवाद गर्ने क्षण हुनेछ। एउटा छेउमा आफ्नो पुस्ताको सर्वकालीन महानायक लियोनेल मेस्सी हुनेछन् भने अर्को छेउमा भविष्यको सबैभन्दा उज्यालो अनुहारका रूपमा उदाएका लामिन यमल। ट्रफी एउटा मात्र हुनेछ, तर त्यो खेलले जन्माउने स्मृति पुस्तौँसम्म बाँचिरहनेछ। यो कथा मैदानबाट सुरु भएको होइन।

सन् २००७ मा युनिसेफ र स्पेनी खेलपत्रिका डियारियो स्पोर्ट ले आयोजना गरेको सामाजिक फोटोसुटमा एउटा संयोगले यमलको परिवारलाई सहभागी हुने अवसर मिल्यो। त्यतिबेला २० वर्षका मेस्सीले केवल छ महिनाका लामिन यमललाई सानो बाथटबमा स्नेहपूर्वक नुहाइदिएका थिए। त्यो एउटा सामान्य फोटोसुट थियो। कसैले कल्पना गरेको थिएन, त्यही शिशु एक दिन विश्व फुटबलकै केन्द्रमा उभिनेछ र सम्भवतः आफ्नै आदर्शसँग विश्वको सबैभन्दा ठूलो उपाधिका लागि भिड्नेछ। समयको सबैभन्दा सुन्दर विशेषता यही हो ९ उसले संयोगलाई इतिहास बनाइदिन्छ। आज त्यो तस्वीर संसारभरका फुटबल समर्थकका लागि केवल एउटा तस्बिर होइनस त्यो विरासतको प्रतीक बनेको छ। मानौँ, एउटा युगले अर्को युगलाई मौन रूपमा आशीर्वाद दिइरहेको छ। त्यसैले धेरैले त्यस क्षणलाई ूफुटबलको दीक्षाू भनेर व्याख्या गर्छन्। यमलका परिवारले पनि त्यसलाई जीवनकै सबैभन्दा अविश्वसनीय संयोग भनेका छन्। तर इतिहास केवल भावनाले लेखिँदैनस त्यसलाई प्रतिभा र कठोर मिहिनेतले प्रमाणित गर्नुपर्छ। लामिन यमलले त्यही गरेका छन्।

बार्सिलोनाको प्रसिद्ध ला मासियाबाट हुर्किएका उनी असाधारण आत्मविश्वास, सृजनशीलता र परिपक्व निर्णय क्षमताका कारण विश्व फुटबलको सबैभन्दा आशाजनक प्रतिभा बनेका छन्। उनको खेलमा मेस्सीको झल्को देखिन्छ ९ देब्रे खुट्टाको जादु, राइट विंगबाट भित्र कट गर्दै खेलको दिशा परिवर्तन गर्ने क्षमता, सटिक पास, अप्रत्याशित ड्रिब्लिङ र निर्णायक क्षणमा खेललाई आफ्नो पक्षमा मोड्ने कला। तर उनी मेस्सीको प्रतिलिपि होइनन्। उनी आफ्नै पहिचान निर्माण गरिरहेका खेलाडी हुन्। यही कारण उनी तुलना होइन, निरन्तरताको प्रतीक बनेका छन्। फुटबलको इतिहास हेर्दा यस्ता विरासतका कथा बारम्बार दोहोरिएका छन्। पेलेपछि संसारले माराडोनालाई देख्यो। माराडोनापछि जिदान, रोनाल्डिन्हो, रोनाल्डो नाजारियोजस्ता कलाकारहरु फुटबलको रंगमञ्चमा आए। त्यसपछि मेस्सी र क्रिस्टियानो रोनाल्डोले दुई दशकसम्म विश्व फुटबललाई अभूतपूर्व उचाइमा पुर्याए। आज मेस्सीको यात्राले अन्तिम मोड लिँदै गर्दा यमल, जूड बेलिङ्घम, जामाल मुसियाला, एन्ड्रिकजस्ता नयाँ अनुहारहरूले भविष्यको जिम्मेवारी सम्हाल्न थालेका छन् भने एम्बाप्पेले आफ्नो जादु देखाईरहेका छन्। इतिहासको सुन्दरता नै यही हो ९ महान खेलाडीहरू जान्छन्, तर महानताको परम्परा रोकिन्न।

मेस्सीको महानता केवल आठ पटकको बालोन डुओर, विश्वकप, कोपा अमेरिका वा असंख्य कीर्तिमानमा सीमित छैन। उनको महानता यसमा पनि छ कि उनी नयाँ प्रतिभाको उदयसँग असुरक्षित महसुस गर्दैनन्। बरु खुलेर प्रशंसा गर्छन्। उनले यमललाई विश्वकै उत्कृष्ट युवा खेलाडीमध्ये एक भनेर स्वीकार गरेका छन्। उता यमलले पनि मेस्सीलाई आफ्नो आदर्श मात्र होइन, इतिहासकै महान् खेलाडीका रूपमा सम्मान गर्दै आएका छन्। प्रतिस्पर्धाभन्दा माथि उठेको यही सम्मानले फुटबललाई खेलभन्दा ठूलो बनाउँछ। यही कारण यो सम्भावित फाइनल केवल उपाधिको खेल हुने छैन। यो दुई फरक समयरेखाको भेट हुनेछ। एउटा समयरेखा, जहाँ मेस्सीले आफ्नो यात्राको अन्तिम महान अध्याय लेखिरहेका छन्। अर्को समयरेखा, जहाँ यमलले आफ्नो यात्राको पहिलो स्वर्णिम अध्याय सुरु गरिरहेका छन्। विश्वका समर्थकहरूको अपेक्षा पनि यही कारण असाधारण छ। अर्जेन्टिनाका समर्थकहरू मेस्सीले आफ्नो अन्तिम विश्व मञ्चलाई अर्को अमर उपलब्धिसँग समापन गरून् भन्ने चाहन्छन्। स्पेनका समर्थकहरू भने नयाँ युगको औपचारिक घोषणा यमलकै खुट्टाबाट होस् भन्ने सपना देखिरहेका छन्। एउटाले इतिहासको निरन्तरता खोजिरहेको छ, अर्कोले भविष्यको सुरुवात। यदि खेल विशुद्ध फुटबलका आधारमा विश्लेषण गर्ने हो भने अर्जेन्टिनाको सबैभन्दा ठूलो शक्ति अनुभव, सामूहिक अनुशासन र दबाबमा खेल्ने क्षमता हुनेछ। वर्षौँदेखि एउटै समूहसँग खेलेका खेलाडीहरूको समझदारी, निर्णायक खेलमा धैर्य र मानसिक बल उनीहरूको प्रमुख हतियार बन्न सक्छ।

स्पेनको सबैभन्दा ठूलो शक्ति भने गति, युवा ऊर्जा, उच्च बल नियन्त्रण र आक्रामक पासिङ फुटबल हुनेछ। यमल, पेड्री, गाभी जस्ता युवा खेलाडीहरूको सिर्जनशीलता कुनै पनि क्षण खेलको दिशा बदल्न सक्षम देखिन्छ। त्यसैले यो खेल केवल अनुभव र युवापनबीचको तुलना मात्र होइनस धैर्य र वेगबीचको प्रतिस्पर्धा पनि हुनेछ। अपेक्षित परिणामको कुरा गर्दा कुनै पनि विश्वस्त भविष्यवाणी गर्नु कठिन हुन्छ। फुटबलको सुन्दरता नै अनिश्चिततामा छ। बल एउटा पोस्टमा लागेर बाहिर जान सक्छ, गोलरक्षकले असम्भव बचाउ गर्न सक्छ, एउटा सानो गल्तीले इतिहास बदल्न सक्छ। त्यसैले फुटबल गणित होइनस भावना, साहस र क्षणको विज्ञान हो। व्यक्तिगत रूपमा हेर्दा धेरै समर्थकहरू मेस्सीको यात्राले अर्को ऐतिहासिक सुखद अन्त्य पाओस् भन्ने चाहना राख्छन्। किनकि उनले दुई दशकभन्दा बढी समय विश्व फुटबललाई अद्वितीय आनन्द दिएका छन्। तर यदि यमलले आफ्नो पुस्ताको प्रतिनिधित्व गर्दै स्पेनलाई विजय दिलाए भने त्यो पनि इतिहासकै अर्को सुन्दर अध्याय हुनेछ। त्यस अवस्थामा संसारले नयाँ युगको औपचारिक जन्म देख्नेछ। सायद यही कारण आजको खेलमा हार्ने टोली पनि पूर्ण रूपमा हार्ने छैन। यदि मेस्सी जिते भने महानताको कथा अझ उज्यालो हुनेछ। यदि यमल जिते भने विरासतले सुरक्षित उत्तराधिकारी भेटेको सन्देश संसारले पाउनेछ। दुवै अवस्थामा फुटबल नै विजेता हुनेछ। समयले सधैँ एउटै कुरा सिकाउँछ—महानता कहिल्यै स्थायी रूपमा एउटा व्यक्तिमा बस्दैन। त्यो निरन्तर यात्रा हो।

एउटा पुस्ताले अर्को पुस्तालाई केवल ट्रफी हस्तान्तरण गर्दैनस सपना, प्रेरणा, मूल्य र जिम्मेवारी पनि हस्तान्तरण गर्छ। यही कारण खेल समाप्त भएपछि पनि केही कथाहरू समाप्त हुँदैनन्। बरु त्यहीँबाट अर्को कथा सुरु हुन्छ। मेस्सीले कुनै दिन आफ्नो काखमा समातेको शिशु आज आफ्नै सामुन्ने उभिने अवस्थामा पुगेको छ। यो दृश्यले एउटा गहिरो सन्देश दिन्छ ९ आज हामीले सानो ठानेका क्षणहरू नै भोलिको इतिहास बन्न सक्छन्। एउटा तस्बिर, एउटा मुस्कान, एउटा स्पर्श वा एउटा प्रेरणाले दशकौँपछि संसारलाई भावुक बनाउने कथा जन्माउन सक्छ। सायद यही कारण फुटबललाई संसारको सबैभन्दा सुन्दर खेल भनिन्छ। किनकि यहाँ केवल बल घुम्दैनस समय घुम्छ। केवल खेलाडीहरू दौडिँदैनन्स पुस्ताहरू अघि बढ्छन्। केवल उपाधि जितिँदैनस विरासत अमर बन्छ। र जब इतिहासले एक पुस्ताबाट अर्को पुस्तामा सम्मानपूर्वक आफ्नो उज्यालो हस्तान्तरण गर्छ, तब खेल केवल खेल रहँदैन ९ मानव सभ्यताको साझा स्मृति बन्छ। दुबै टिमलाई शुभकामना 🙏 जय फुटबल


प्रतिक्रिया दिनुहोस्