साउदीको रियादमा हुने “१०औँ सगरमाथा गोल्ड कप २०२६” स्थगित काठमाडौँ । साउदी अरबको रियादमा आयोजना हुने “१०औँ सगरमाथा गोल्ड कप २०२६” स्थगित गरिएको छ। मार्च २० र २१ मा सञ्चालन हुने तय गरिएको उक्त प्रतियोगिता मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो। सगरमाथा फुटबल क्लबका सचिव दावा शेर्पाका अनुसार नेपाली राजदूतावास, रियादको अनुरोधलाई ध्यानमा राख्दै प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको हो। हाल इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्व क्षेत्र प्रभावित बनेको बताइएको छ। प्रतियोगिता स्थगित हुँदा खेलाडी, समर्थक तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति आयोजकले क्षमायाचना गरेका छन्। साथै, परिस्थिति सामान्य भएपछि प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिने जानकारी दिइएको छ। आयोजकका अनुसार प्रतियोगितामा साउदी अरबमा क्रियाशील विभिन्न नेपाली समुदायका फुटबल टोलीहरूको सहभागिता रहने थियो। प्रतियोगितामार्फत प्रवासी नेपालीबीच सद्भाव, एकता, सहकार्य तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने लक्ष्य राखिएको छ। साथै, खेलकुदमार्फत नेपाली पहिचानलाई सुदृढ गर्दै युवालाई खेल क्षेत्रमा प्रेरित गर्ने उद्देश्यसमेत रहेको जनाइएको छ। पुरस्कारतर्फ विजेता टोलीले ७ हजार साउदी रियालसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ हजार ५ सय साउदी रियालसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’सहित विभिन्न विधागत पुरस्कारहरू समेत वितरण गरिनेछ। विगतका संस्करणहरू सफलतापूर्वक सम्पन्न हुँदै आएको सगरमाथा गोल्ड कपले रियादस्थित नेपाली समुदायमा खेलकुदप्रतिको आकर्षण बढाउँदै आएको आयोजकको दाबी छ। प्रतियोगिताले खेल प्रतिभा पहिचान तथा सामाजिक सद्भाव सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताइएको छ।