टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। १८१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको होबार्ट १६।१ ओभरमै ११४ रनमा समेटियो । नेपालको जीतमा नन्दन यादव चम्किए, उनले ३ ओभरमा १७ रन खर्चिँदै ५ विकेट लिए। त्यस्तै, कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले समान १–१ विकेट हात पारे। होबार्टका लागि ब्राड होपले ३१ रन, चार्ली वाकिमले २८ रन बनाए भने जेन कर्टेन २० रनमा अविजित रहे। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८० रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन जोडे। आसिफ शेखले २९, कुशल भुर्तेलले २७ रन बनाए भने लोकेश बमले ११ बलमा अविजित २५ रन जोडे। नेपालले अतिरिक्त ३२ रनसमेत प्राप्त गरेको थियो। बलिङतर्फ होबार्टका निभेथन राधाकृष्णनले ४ ओभरमा २० रन खर्चिँदै २ विकेट लिए भने राफ म्याकमिलनले पनि २ विकेट हात पारे। यस्तै, मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले १–१ विकेट लिन सफल भए। यसअघि लगातार ३ खेलमा हार बेहोरेको नेपालले चौथो खेलमै पहिलो जित निकाल्न सफल भएको हो। नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग, दोस्रो खेलमा बंगलादेश एसँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो। नेपालले अब भोलि मेलबर्न रेनेगेड्ससँग र शुक्रबार पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।