युरोपमा “मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६” आयोजना हुँदै, टिम दर्ता खुला


0
Shares

काठमाडौं। माल्टामा रहेका नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले ‘युरोप स्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण मुक्कुमलुङ कप फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ–माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा प्रतियोगिता आगामी अक्टोबर ३ देखि ४ सम्म माल्टाको मोस्टा फुटबल ग्राउन्ड मा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत नेपाली समुदायबीच भाइचारा, सामाजिक सद्भाव, स्वस्थ प्रतिस्पर्धा र मित्रवत सम्बन्धको विकास गर्नुका साथै युरोपभर रहेका नेपाली संघ–संस्था तथा फुटबल क्लबहरूलाई एउटै मञ्चमा जोड्नु रहेको छ।
प्रतियोगिताका लागि टिम दर्ता (Team Registration) खुला गरिएको छ। युरोपका विभिन्न देशमा रहेका इच्छुक नेपाली फुटबल क्लब तथा टोलीहरूलाई समयमै आफ्नो नाम दर्ता गराई प्रतियोगितामा सहभागी हुन आयोजकले आग्रह गरेको छ। साथै खेलप्रेमी, सामाजिक अभियन्ता, विभिन्न संघ–संस्था, विशिष्ट व्यक्तित्व तथा शुभेच्छुकहरूलाई पनि प्रतियोगितामा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन अनुरोध गरिएको छ।
प्रतियोगितामा सहभागी प्रत्येक टोलीले ४९९ युरो प्रवेश शुल्क तिर्नुपर्नेछ। विजेता टोलीले ट्रफी, मेडलसहित ५,००० युरो नगद प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी, मेडलसहित २,५०० युरो नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। यसका अतिरिक्त उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलकिपर लाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीमा १० मुख्य र २ वैकल्पिक गरी १२ खेलाडी रहने व्यवस्था गरिएको छ। खेल फिफाको प्रचलित नियमअनुसार सञ्चालन हुनेछ। खेलाडीले अनिवार्य रूपमा निर्धारित खेल पोशाक प्रयोग गर्नुपर्ने, खेल सुरु हुनुभन्दा कम्तीमा ३० मिनेटअघि मैदानमा उपस्थित हुनुपर्ने तथा अनुशासन, खेलभावना र आपसी सम्मान कायम राख्नुपर्ने नियम तय गरिएको छ।

माल्टाबाहिरबाट सहभागी हुने टोलीका लागि प्रतियोगिता अवधिभर दुई रातको आवास आयोजकले उपलब्ध गराउने जनाएको छ भने अन्य व्यक्तिगत खर्च सम्बन्धित टोलीले आफैं व्यवस्थापन गर्नुपर्नेछ। प्रतियोगिताका संयोजक किरण कुमार लिम्बु रहेका छन्। थप जानकारीका लिनका लागि दर्शन लिम्बु, प्रकाश आङदेम्बे, गजेन्द्र लिम्बु र प्रेमराज लिम्बुसँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
आयोजकले युरोपभर रहेका नेपाली फुटबल टोलीहरूलाई समयमै दर्ता गराई यस अन्तर्राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन सक्रिय सहभागिताको अपिल समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्