प्रथम मेरिङ्देन अध्यक्ष कपमा सान्थाक्राको बर्चस्व

अरुणपोष्ट संवाददाता
ताप्लेजुङ, ७ जेठ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित प्रथम मेरिङ्देन रनिङ अध्यक्ष कप खेलकुद प्रतियोगितामा सान्थाक्राले बर्चस्व जमाएको छ । उक्त खेलकुद प्रतियोगिताअन्तर्गत सञ्चालित फुटबल तथा भलिबल दुवै खेलको उपाधि मेरिङ्देन वडा नं. २ सान्थाक्राले जितेको हो ।

सोमबार सम्पन्न भएको प्रतियोगितामा पुरुषतर्फ फुटबलमा मेरिङ्देन वडा नं. ३ खाम्लुङलाई ४–२ गोलअन्तरले पराजित गर्दै सान्थाक्रा विजेता बनेको हो भने भलिबलमा पनि वडा नं। ५ थुकिमालाई पराजित गर्दै सान्थाक्रा नै विजेता बनेको हो ।

भलिबलमा भने २५–२२, २५–१५ र १५–९ को सेटमा सान्थाक्रा विजेता बनेको हो । उपविजेता थुकिमाले पनि दुई खेलमा २५–१५ र २५–१८ ले जित हासिल गरे पनि अन्तिम अर्थात पाँचौ खेलमा पराजित भएको थियो । दुवै खेलमा विजेता बनेको सान्थाक्राले ट्रफीसहित ३५÷३५ हजार रुपियाँ नगद पुरस्कार पाएको छ ।

यस्तै फुटबलतर्फ उपविजेता बनेको खाम्लुङ र भलिबलतर्फ थुकिमाले जनही २५ हजार रुपियाँ नगद पुरस्कार पाएको छ । महिलातर्फ भने फुटबल खेलमा १–० गोलअन्तरले विजेता वा प्रथम बनेको वडा नं। ३ खाम्लुङले ट्रफीसहित ३० हजार नगद पुरस्कार र उपविजेता बनेको वडा नं। २ सान्थाक्राले २० हजार रुपियाँ नगद पुरस्कारमा चित्त बुझाउनुपरेको छ ।

मेरिङ्देन गाउँपालिकाको छ वटै वडाको सहभागिता रहेको प्रतियोगितामा भलिबलमा भने महिला टोली ९टिम० रहेको थिएन । यस्तै फुटबलमा विजेता र उपविजेता बनेका बाहेक अन्य सहभागी वडाका पुरुष तथा महिला दुवै टोलीलाई जनही १५ हजार रुपियाँका दरले सान्तवना पुरस्कार प्रदान गरिएको मेरिङ्देन गाउँ कार्यपालिका सदस्य तथा गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारी दिए ।

यता प्रतियोगिताको विजेता वडाका टोलीहरुलाई प्रदेश १ का प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ, जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेन, मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्बाङ लगायतले पुरस्कारहरु वितरण गर्नुभएको थियो । प्रतियोगिता गत बैशाख २९ गते सुरु भई जेठ ६ गते सोमबार सम्पन्न भएको मेरिङ्देनका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिए ।

ताप्लेजुङमा रहेका नौ स्थानीय तहमध्ये यसअघि फुङ्लिङ नगरपालिकाले प्रथम मेयर कप प्रतियोगिता सम्पन्न गरेको थियो भने प्रथम अध्यक्ष कप आयोजना गरेर खेलकुद प्रतियोगिता सम्पन्न गर्नेमा मेरिङ्देन गाउँपालिका दोस्रो भएको छ । अब प्रतियोगिता आयोजना नगर्नेमा पाथीभरा याङ्वरक, सिदिङ्वा, सिरिजङ्घा, आठराई त्रिबेणी, मैवाखोला, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिका रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्