ताप्लेजुङका २९० नारी व्यक्तित्व सम्मानित : योगदान र संघर्षको भव्य सम्मान


0
Shares

काठमाडौं । ताप्लेजुङ समाज–नेपालले शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, राजनीति, समाजसेवा, उद्यमशीलता, कला, साहित्य, संस्कृति, सञ्चार, कृषि, पर्यटनलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ताप्लेजुङका २ सय ९० जना महिला प्रतिभा तथा व्यक्तित्वलाई सम्मान गरेको छ। हरितालिका तीजको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, पूर्वमन्त्री याङकिला शेर्पा, पूर्वसांसद लिलादेवी बोखिम, उर्मिला थेबे, पूर्वसांसद सुशिला श्रेष्ठ, पूर्व कोशी प्रदेशसभा सदस्य होमकुमारी साँवालगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महिलाहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको हो।

ताप्लेजुङ समाज–नेपालका अध्यक्ष रमेश बरालका अनुसार जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा योगदान पुर्‍याइरहेका महिलाको योगदानलाई सार्वजनिक रूपमा पहिचान र सम्मान गर्दै नयाँ पुस्तालाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। भण्डारीले ताप्लेजुङका प्रतिभाहरूले विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै यस्ता सम्मानले समाजमा सकारात्मक काम गर्ने व्यक्तिहरूलाई थप प्रेरणा मिल्ने बताउनुभयो।

नारी सम्मानलाई, सम्मानपत्र, माला र दोसल्ला प्रदान गर्ने औपचारिक कार्यक्रमका रूपमा मात्र नभई जिल्लाका महिलाहरूको संघर्ष, योगदान, समर्पण र सफलताको अभिलेखीकरण गर्ने सामाजिक अभियानका रूपमा अघि बढाएको आयोजकले जनाएको छ। आयोजकका अनुसार जिल्लाका विभिन्न भूगोल, समुदाय र क्षेत्रमा योगदान पुर्‍याएका महिलालाई पहिचान गरी उनीहरूको योगदानलाई सामाजिक दस्तावेजका रूपमा स्थापित गर्ने उदेश्यले ताप्लेजुङका ६१ वटै वडाबाट सम्मानयोग्य महिलाको पहिचान तथा नामावली संकलन गरेको थियो।

यस वर्षको सम्मानको महत्वपूर्ण पक्षका रूपमा स्वर्गीय विष्णुमाया आङबुहाङलाई मरणोपरान्त विशिष्ट नारी सम्मान प्रदान गरिएको छ। वि.सं. २००९ सालमा तमोर नदीमाथि फलामे पुल निर्माणमा उहाँले पुर्‍याउनुभएको योगदानले ताप्लेजुङ, पाँचथर र तेह्रथुमका नागरिकको आवतजावत सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ। स्थानीय रूपमा ‘लिम्बुनी पुल’का रूपमा परिचित उक्त पुल लामो समयसम्म यस क्षेत्रको सामाजिक सम्बन्ध, आवतजावत तथा आर्थिक गतिविधिको महत्वपूर्ण आधार बनेको थियो।

सम्मानअन्तर्गत शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्‍याएकी बिमला सुब्बालाई शिक्षा सम्मान प्रदान गरिएको छ। आफूले अध्ययन गरेको विद्यालयमै करिब चार दशक सेवा गरी महिला प्रधानाध्यापकका रूपमा अवकाश लिनुभएकी सुब्बाको योगदानलाई शिक्षा सेवाप्रतिको समर्पणका रूपमा प्रस्तुत गरिएको छ। त्यसैगरी प्रा. डा. कमला श्रेष्ठ दाहाल, गुरुआमा देवी श्रेष्ठलगायत शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने महिलाहरूलाई समेत सम्मान गरिएको छ।

स्वास्थ्य क्षेत्रमा डा. प्रगति गुरुङ, गंगा गुरुङ, अम्बिका थापा, कल्याणी शिवा, कोपिला श्रेष्ठ पालिखे, बिन्दा घिमिरेलगायत महिलाहरूको योगदानलाई सम्मान गरिएको छ। त्यस्तै, ताप्लेजुङकी पहिलो महिला प्रमुख जिल्ला अधिकारीका रूपमा गीता देवी चेम्जोङ तथा राष्ट्रसेवामा योगदान पुर्‍याएका सुनिता श्रेष्ठ मादेन, रमा न्यौपाने, लक्ष्मी खतिवडा लगायतलाई पनि सम्मान गरिएको छ।

उद्यमशीलतर्फ कल्पना योङहाङ लिम्बुलगायत महिला उद्यमीहरूलाई सम्मान गरिएको छ। महिला उद्यमशीलता आर्थिक आत्मनिर्भरता र सशक्तीकरणको महत्वपूर्ण आधार भएकाले उनीहरूको संघर्ष र सफलताको कथा नयाँ पुस्ताका लागि प्रेरणादायी हुने आयोजकको विश्वास छ।

त्यसैगरी सामाजिक सेवामा योगदान पुर्‍याएकी याङजोम शेर्पा, दीक्षा चापागाईँलगायत सामाजिक अभियन्तालाई सम्मान गरिएको छ। ताप्लेजुङको मौलिक कला, संस्कृति, लोकसंगीत तथा साहित्यको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने झुमा वनेम लिम्बु, सविता बराललगायत स्रष्टाहरूलाई समेत सम्मान गरिएको छ। सञ्चार क्षेत्रमा नेपाल टेलिभिजनमार्फत लामो समयदेखि सक्रिय रिता गुरुङ तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने माला पालुङ्वालगायत महिलाको योगदानलाई पनि कदर गरिएको छ।

हरितालिका तीजको अवसरमा आयोजना गरिएको कार्यक्रमले सम्मानसँगै काठमाडौंमा रहेका ताप्लेजुङवासीबीच भेटघाट, सद्भाव र आत्मीयता बढाउने उद्देश्यसमेत रहेको आयोजकले बताएको छ।

आयोजकका अनुसार तीजको सांस्कृतिक अवसरलाई ताप्लेजुङका महिलाको योगदानको सम्मान, सांस्कृतिक प्रस्तुति र जिल्लासँगको भावनात्मक सम्बन्धसँग जोडिएको हो। यसले काठमाडौंमा रहेका ताप्लेजुङवासीबीच आफ्नो माटो, संस्कृति र पहिचानप्रतिको सम्बन्ध अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

ताप्लेजुङ समाज–नेपालले यस्ता कार्यक्रममार्फत महिलाको योगदानलाई सार्वजनिक अभिलेखमा ल्याउने, उनीहरूको संघर्ष र सफलतालाई समाजसामु चिनाउने तथा नयाँ पुस्तालाई प्रेरित गर्ने लक्ष्य राखेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्