विश्वकप बारे २० रोचक कुरा प्रकाशित मिति : 14 June, 2018 8:32 am काठमाडौँ / आजदेखि रुसमा विश्व फुटबलको महाकुम्भ शुरु हुँदैछ । बिहिबार हुने उद्घाटन खेलमा आयोजक रसियाले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्दैछ ।समूह ए अन्तरगतको खेल नेपाली समयअनुसार साँझ ८ बजेर ४५ मिनेट जाँदा मस्कोको लुझिन्की रंगशालामा खेलाइनेछ । विश्वकप शुरु हुनअघि यहाँ केही तथ्यहरु प्रस्तुत गर्न गइरहेका छौँ जसले तपाईंलाई यो विश्वकपबारे बुझ्न मद्दत गर्नेछ । १. यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । २. यस विश्वकपको छनौटका लागि पहिलो क्वालिफायर १२ मार्च २०१५ मा पूर्वी टिमोर र मंगोलियाबीच भएको थियो । यस खेलमा टिमोर ५–१ ले विजय बनेको थियो । तर, पछि टिमोरबाट आयोग्य खेलाडीहरु खेलाइएको खुलेपछि हारका बावजुद मंगोलियालाई विजेता घोषित गरिएको थियो । तर, यो फैसला निकै ढिलो आएको कारण टिमोरको टोली नै अघि बढेको थियो । आफ्नो पक्षमा फैसला आए पनि मंगोलियाको भाग्य भने परिवर्तन भएन । ३. यस पटकको विश्वकपमा कुल ३२ टोली रहेका छन् । सन् २०२६ पछि ४८ टोली विश्वकपमा भाग लिनेछन् । ४. आइसल्याण्ड र पानामा पहिलो पटक विश्वकप खेल्न गइरहेका छन् । ५. ब्राजिल एक मात्र देश हो जसले विश्वकपको हरेक संस्करण खेलेको छ र सबैभन्दा धेरै पाँच पटक उपाधिमाथि कब्जा जमाएको छ । यदी यसपटक ब्राजिलले विश्वकप जिते उसको यो छैटौँ उपाधि हुनेछ । ६. जर्मनी ब्राजिल र इटालीपछि लागातार दुई पटक विश्वकप जित्ने टोली बन्ने दाउमा छ । सन् १९५८ र १९६२ मा ब्राजिल तथा सन् १९३४ र १९३८ मा इटालीले लगातार दुईपटक विश्वकपमाथि कब्जा जमाएको थियो । ७. जर्मनी पछिल्लो तीन विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने टोली हो । जर्मनीले सन् २००६ मा १४, सन् २०१० मा १६ र सन् २०१४ मा १८ गोल गरेको थियो । ८. रुसका ओलेका सालेंको विश्वकपको एक खेलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले सन् १९९४ मा क्यामरुनबिरुद्ध एकै खेलमा पाँच गोल गरेका थिए । ९. पछिल्लो विश्वकप करीब ३।२ अर्ब मानिसले हेरेका थिए । यो विश्वको लगभग आधा जनसंख्या हो । १०. हालसम्म विश्वकप विजेता टोलीको प्रशिक्षक सोही देशका रहेका छन् । ११. रुस विश्वकपको नकआउट चरणसम्म पुग्न सकेको छैन । यसपटक घरेलु मैदानमा उसलाई फाइदा हुने आशा गरिएको छ । १२. सन् २०१८ नाइजेरियाका लागि छैटौँ विश्वकप हुनेछ । १३. दक्षिण कोरिया १० औँ पटक विश्वकप खेल्न लाग्दैछ । अन्य कुनै पनि एसियाली मुलुकले यति धेरै पटक विश्वकपमा प्रतिनिधित्व गरेको छैन । १४. ईरान लगातार दुई विश्वकपको लागि छनौट भएको यो पहिलो अवसर हो । १५. आइसल्याण्ड विश्वकपमा छनौट हुने सबैभन्दा सानो राष्ट्र हो । यसको जनसंख्या मात्र ३ लाख ३४ हजार रहेको छ । १६. नेदरल्याण्ड उपाधि नजिते पनि धेरै विश्वकप खेल्ने राष्ट्र हो । तर, यसपटक ऊ विश्वकपमा छनौट हुन सकेन । १७. सन् १९५८ पछि पहिलो पटक इटाली विश्वकपमा छनौट हुन असफल भएको हो । इटालीले अहिलेसम्म चार पटक – १९३४, १९३८, १९८२ र सन् २००६ मा विश्वकप जितेको छ । १८. सन् १९८६ पछि अमेरिका पनि विश्वकपमा छनौट हुन सकेन । १९. पहिलो पटक एसिया र युरोप दुवै महादेशमा खेल हुँदैछ । २०. पानामाका राष्ट्रपतिले आफ्नो फुटबल टोली विश्वकपमा छनौट भएपछि अक्टुबर ११ मा राष्ट्रिय विदाको घोषणा गरेका थिए । -एजेन्सी