जावलाखेलबाट भागेको पूर्वयुवराज पारस थापाथली ट्राफिकको फन्दामा प्रकाशित मिति : 14 June, 2018 7:13 am काठमाडौं / घटना गत सोमबार (२८ जेठ)को हो । स्थान, जवलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्बाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्यो । बा.१४प २१३१ नम्बरको गाडी थियो । कोसिस गर्दा पनि प्रहरीले गाडी नियन्त्रणमा लिन सकेन । ट्राफिक नियम मिच्दै गाडी पुल्चोकतिर हुइँकियो । जावलाखेल ट्राफिकले तत्काल हरिहरभवनको प्रहरीलाई फोन गरेर भन्यो, ‘एउटा गाडी अनियन्त्रित गतिमा त्यतातिर आउँदै छ । चालक विदेशीजस्तो देखिन्छ । दुर्घटना निम्त्याउन सक्ने खतरा छ । नियन्त्रणमा लिनू ।’ हरिहरभवनको ट्राफिक तयारी अवस्थामा बस्यो । नभन्दै बेतोडले हुइँकिएको गाडी हरिहरभवन आइपुग्यो । नजिकै आइपुगेपछि ट्राफिकले सिठी फुक्दै रोक्न संकेत गर्यो । तर, सुनेको–नसुन्यै गरी चालकले झन् गेयर बढायो । हरिहरभवनका ट्राफिक प्रहरी पनि जावलाखेलका झैँ हेरेको–हेर्यै भए । हरिहरभवनबाट पनि अगाडि बढेपछि गाडी रोक्नुपर्ने खबर कुपन्डोल र थापाथली ट्राफिकमा पुग्यो । कुपन्डोलका ट्राफिक पनि तत्काल ‘एक्सन’मा खडा भए । तर, उनीहरूले रोक्न खोज्दा पनि गाडी रुकेन । कुपन्डोलका ट्राफिकलाई हैरान पार्दै गाडी थापाथलीतिर कुद्यो । थापाथली ट्राफिकले नयाँ जुक्ति निकाल्यो । उक्त गाडी थापाथली आइपुग्नै लाग्दा ट्राफिकले त्यस अगाडिका चार–पाँच गाडी रोकिदियो । अब बा.१४प २१३१ नम्बरको गाडी उम्किने अवस्था भएन । त्यसो त त्यहाँबाट फुत्किएको भएपनि माइतीघर र त्रिपुरेश्वरका ट्राफिक पनि तयारी अवस्थामा थिए । थापाथलीका दुई–तीन ट्राफिक गाडी रोकेर नजिकै पुगेपछि गाडीको सिसा झार्दै चालक बोले, ‘ह्वाट ह्यापन्ड ?’ ट्राफिकले कागजपत्र मागे । चालकले सहजै उपलब्ध गराए । एक ट्राफिकले भने, ‘गाडीको नम्बर पनि स्पष्ट देखिँदैन त ?’ चालक गाडीबाट ओर्लिएर नम्बर प्लेटमा लागेको माटो टालोले सफा गरे । चालक गाडीबाट झर्नेवित्तिकै जाममा परेका मोटरसाइलकमा सवारहरु चिच्याए, ‘पारस शाह ।’ त्यसपछि त सडकमा हल्लीखल्ली नै भयो । जावलाखेल चोकबाट प्रहरीले निगरानीमा राखेका ति चालक पूर्व युवराज पारस शाह थिए । आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छापिएको छ ।