विश्व वातावरण दिवसका दिन बिरुवा रोप्ने तरिका सिकाइयो प्रकाशित मिति : 5 June, 2018 7:45 pm ताप्लेजुङ, २२ जेठ / हरेक वर्ष वृक्षारोपण गरे पनि बिरुवा नहुर्कने अवस्थालाई मध्यजनर गर्दै ताप्लेजुङमा विश्व वातावरण दिवसका दिन बिरुवा रोप्ने तरिका सिकाइएको छ । वृक्षरोपण गरिएको क्षेत्र सधैं उजाड भइरहने नियति नदोहोरियोस् भन्ने उद्देश्यले जिल्ला वन कार्यालय ताप्लेजुङले मङ्गलबार वृक्षरोपणको तरिका र संरक्षणका उपाय सिकाएको हो । बिरुवा रोप्ने तरिका सिकाउँदै जिल्ला वन अधिकृत घिमिरे । तस्बिर : प्रयास । दिवसको अवसरमा जिल्ला वन कार्यालयले सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालय परिसरभित्र पार्कको रुपका विकास हँुदै आएको क्षेत्रमा वृक्षरोपण गर्दै बिरुवा रोप्ने तरिका र संरक्षणका उपायबारे अनुशिक्षण गराएको हो । बिरुवा रोपेर मात्र नहुनेभन्दै रोपाइको तरिका र यसको दिगोपनाका बारेमा पनि हेक्का राख्नुपर्ने जिल्ला वन अधिकृत बिष्णुलाल घिमिरेले बताउनुभयो । अधिकृत घिमिरेका अनुसार वृक्षरोपणका लागि करिव एक फिट गहिरो खाल्डो खन्नुपर्ने र खाल्डो खन्दा माथिल्लो तहको मलिलो माटो तथा तल्लो भागको कम उर्बरा माटोलाई बेग्लाबेग्लै राख्नुपर्ने हुन्छ । बिरुवा रोप्नु पहिले उर्बरायुक्त माटो खाल्डोमा हाली रोप्न तयार पारेको बिरुवा देब्रे हातले समातेर दाहिने हातले बिरुवा रोप्न तयार पारिएको खाल्डोमा थोरै माटो कोट्याएर रोप्नुपर्ने घिमिरेले बताउनुभयो । यसरी बिरुवा रोप्दा रोप्न तयार पारिएको बिरुवाको जरापट्टि रहेको माटोको थोरै अंश पनि झर्न दिन नहुने उहाँको भनाइ छ । बिरुवा रोपेपछि खाल्डो खन्दा बेग्लाबेग्लै राखिएको खाल्डोको तल्लो भागबाट निस्किएको कम उर्बरायुक्त माटो बिरुवाको माथिल्लो भागमा राख्नुपर्ने घिमिरे बताउनुहुन्छ । खाल्डो खन्दा निस्किएको झारपातले माथिल्लो भाग वरिपरी राखी खाल्डोको क्षमताभन्दा बढी भएको पानीको पनि निकास हुनेगरी बनावट राख्नुपर्ने र सम्भव भएसम्म बिरुवाको वरिपरी घेराबार गर्नुपर्ने उहाँले बताउनुभयो । अहिलेसम्म गरिएका वृक्षरोपणले सही नतिजा नदिनु बिरुवा रोपेपछि संरक्षणको कार्य नहुनु र बिरुवा रोप्ने तरिका नपुग्नु मुख्य कारण रहेको पनि उहाँले बताउनुभयो । उहाँले बिरुवा रोपेपछि आवश्यक जैविक मलको प्रयोग गरेमा अरु बढी उत्तम हुने बताउनुभयो । यता कार्यालयको हाताभित्र बिरुवा रोप्ने ठाउँ भएका ताप्लेजुङका सबै सरकारी कार्यालयमा मङ्गलबार सुन्तला र कागती प्रजातिका बिरुवा रोपिएको छ । जिल्ला वन कार्यालय र फुङ्लिङ नगरपालिकाको सहयोगमा प्राप्त भएका कागती र सुन्तला जातका बिरुवा रोप्न सबै कार्यालयलाई बिरुवा उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । विश्व वातावरण दिवसको अवसरमा प्लास्टिकजन्य सामग्री सङ्कलन तथा व्यवस्थापनका लागि भानु माविलाई जिल्ला वन कार्यालयले दुई थान डस्बिन पनि उपलब्ध गराएको छ । यस्तै विश्व वातावरण दिवसकै अवसर पारेर वातावरण संरक्षण तथा विकास मञ्चले निजी वनको उपयोगिता र वन व्यवस्थापनका सम्भावना तथा चुनौतीबारे अन्तक्र्रिया गरेको छ । अन्तक्र्रिया कार्यक्रममा वातावरण संरक्षण र वन व्यवस्थापनका बारेमा बहस केन्द्रित भएको मञ्चका अध्यक्ष कुमार शिवाले जानकारी दिनुभयो । -प्रयास लिम्बू