ग्रिजम्यान एक्लैले गरे चार गोल, बार्सिलानोमाथि दबाव कायमै
१७ फागुन, काठमाडौं । एन्टोनी ग्रिजम्यान चम्किएपछि स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले लेगानेसमाथि सहज जित हात पारेको छ ।
जितसँगै एथ्लेटिकोले लिग लिडर बार्सिलोनामाथि दबाव कायमै राखेको छ । बार्सिलोना ४ अंकले अगाडि छ र एक खेल कम खेलेको छ ।
बुधबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले लेगनेसमाथि ४-० को जित हात पारेको हो ।
सबै गोल ग्रिजम्यानले गरे । २६ औं मिनेटमा घरेलु टोलीको खाता खोलेका उनले ३५ औं मिनेटमा दोस्रो गोल गरे । ५६ औं मिनेटमा उनले हृयाट्रिक पूरा गरेका थिए ।
खेलको ६७ औं मिनेटमा चौथो गोल गरे । उनको एक गोल अफसाइड रहृयो भने एउटा प्रहार बारमा लागेको थियो ।
लगातार ८ खेल जितेको एथ्लेटिको मड्रिड आगामी आइतबार नाउक्याम्प जानेछ र, यो खेलले उपाधि होड तय गर्नेछ ।