हृयात्लुङ झरनाको फेदीमा स्विमिङ पुल बनाइने, बाह्रै महिना पानी झारिने प्रकाशित मिति : 23 February, 2018 7:02 am ११ फागुन, इटहरी । तेह्रथुमको हृयात्लुङ झरनाको फेदीमा स्विमिङ पुल बन्ने भएको छ । फेदाप गाँउपालिका(४ र ५ को सिमानामा रहेको झरनाको पूर्वाधार विकास गर्न फेदीमा स्विमिङ पुल निर्माण गर्न लागिएको हो । साथै हिउँदको समयमा छिपछिपे पानी मात्रै झर्ने हृयात्लुङमा बाह्रै महिना पानी झार्न समेत स्थानीय सक्रिय भएका छन् । ३६५ मिटर अग्लो हृयात्लुङ झरनामा माघदेखि बैशाखसम्म पानीको मात्रा कम हुने भएकाले बाह्रै महिना पानी झार्ने परियोजना सुरु भइसकेको स्थानीय जनप्रतिनिधि इश्वर खत्रीले बताए । हृयात्लुङ झरना एकता समाजका सचिव र झरनाछुने वडा नम्बर ४ का वडा सदस्य समेत रहेका खत्रीले स्थानीय तह र झापाको काँकडभित्ता कार्यालयले संयुक्त रुपमा ३० लाख छुट्याएको जानकारी दिए । स्नीथानीय गौथली र कमेरे खोलाको पानी झरनाको मुलमा पुर्याएर झरनामा बाह्रै महिना झार्ने योजना रहेको खत्रीको भनाइ छ । ‘झरनाको पानी मज्जाले झर्दा पात छोएर आउँने बाछिटा र पानीको संगीत सुन्दर हुन्छ तर हिउँदको समयमा त्यसो नहुनसक्छ । यही जोगाउन बाह्रैमास बग्ने खोलाको पानी झरनाको मुहानमा लगेर झरनाको सुन्दरता र आकर्षण बाह्रै महिना जोगाउने स्थानीय सरकारको योजना रहेको छ ।’ उनले भने । गाविस भएको अवस्थामा सरसफाइ र बाटो मर्मतका कामहरु मात्रै भएको हृयात्लुङ क्षेत्रमा स्थानीय तह बनेपछि भने केही थप परियोजनाहरु बन्न लागेका छन । जसअनुसार हृयात्लुङ क्षेत्रलाइ पूर्वी पाहाडको पिकनिक गन्तव्य बनाउने र होमस्टे सञ्चालन गर्ने छलफल पनि सुरु भएको छ । तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारबाट साढे दुई घण्टा र पाँचथरको सदरमुकाम फिदिमबाट ५ घण्टामा हृयात्लुङ पुग्न सकिन्छ । मध्यपहाडी राजमार्गबाट ८ किलोमिटरको दुरीमा हृयात्लुङ रहेको छ ।