एकीकृत घुम्तीशिविर सम्पन्न प्रकाशित मिति : 25 April, 2018 8:49 pm ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको उत्तरी फक्ताङ्लुङ गाउँपालिकामा बुधबार सरकारी एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । त्यस गाउँपालिका अन्तर्गत साविक लिङ्खिम, सावादिन, खेजेनिम, इखाबु, तापेथोक, लेलेप, ओलाङ्चुङगोला गाविसलाई लक्षित गरी घुम्ती शिविर आयोजना गरिएको जनाइएको छ । उक्त घुम्ती शिविरमार्फत एक बैबाहिक अंगिकृतसहित ५६ जनाले नागरिकता प्राप्त गरेका छन् । शिविरमा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी आफैं उपस्थित भएर सर्वसाधारणलाई नागरिकता वितरण गर्नुभएको हो । शिविरमार्फत जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम पनि सम्पन्न गरेको छ । यस्तै जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणी तथा अपराध नियन्त्रणसम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ भने नागरिक उत्तरदायित्य र प्रभावकारी गुणस्तरीय सेवासमबन्धी समेत कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले एक सय ५३ जनालाई औषधि वितरण गरेको छ भने उनीहरुको स्वास्थ्य परीक्षण समेत गरेको छ । जिल्ला कृषि विकास कार्यालयले एक सय ७६ जनालाई तरकारी तथा फलफुलको विऊ वितरण गर्नुका साथै कृषि परामर्श दिएको छ । जिल्ला पशु सेवा कार्यालयले एक सय छ जना किसानलाई औषधि तथा परामर्श सेवा प्रदान गरेको छ । यसैगरी शिविरमार्फत जिल्ला स्वास्थ्य कार्यालयले २० जनाको भिडियो एक्सरे गरेको छ भने पाठेघरका समस्या रहेको चारजनालाई रिङप्रेसरी, पाँच जनालाई इम्प्लान्ट सेवा प्रदान गर्नुका साथै एक सय ९० जनाको स्वास्थ्य परीक्षण साथै उपचार सेवा प्रदान गरेको छ । महिला तथा बालबालिका कार्यालयले २१ जनालाई अपाङ्गताको परिचयपत्र वितरण गरेको छ भने मानव बेचविखन तथा ओसारपसार सम्बन्धी जनचेतनामुलक कार्यक्रम पनि गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले भने विद्यार्थी भर्ना अभियानको प्रचारप्रसार सेवा प्रवाह गरेको छ भने फक्ताङ्लुङ गाउँपालिका कार्यालयले ५६ जनालाई नागरिकताको सिफारिस गरेको थियो । एकीकृत घुम्ती शिविर प्रजिअ जिसी सहित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको प्रत्यक्ष संलग्तामा सो गाउँपालिकाको केन्द्र तापेथोक बगरमा सम्पन्न भएको हो । -प्रयास लिम्बू