रोमाविरुद्ध च्याम्पियन्स लिगमा लिभरपुलको ५–२ ले विजयी

काठमाडौं / युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले शानदार जित हासिल गरेको छ । गएराति घरेलु मैदान एन्फिल्डमा लिभरपुलले इटालीको एएस रोमालाई ५–२ ले हरायो । यो जितसँगै लिभरपुल फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ ।

साडियो मानेले एक गोल थपे । रोमाका लागि एडिन जेको र डिएगो पेरोटीले एक–एक गोल गरेका थिए । लिभरपुललाई जिताउन मोहम्मद सलाह र रोबर्टो फिरमिनोले दुई–दुई गोल गरे ।  सन् २००७ मा लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । यो सिजनमा पनि फाइनलमा पुग्ने बलियो सम्भाबना कायम राख्नुमा सालहको भूमिका महत्वपूर्ण छ ।
दुई दिनअघि मात्रै पिएफए वर्ष खेलाडी अवार्ड जितेका सालहले रोमाविरुद्धको खेलमा दुई गोल मात्रै गरेनन् थप दुई गोलका लागि सहयोग गरे ।

३५ र ४५ औं मिनेटमा गोल गरेका सालहले ५६ औं मिनेटमा साडिओ माने र ६१ औं मिनेटमा रोबर्टो फिरमिनोलाई गोल गर्ने वातावरण तयार पारे । फिरमिनोले ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ५–० को अवस्थामा पुर्‍याएका थिए । यो सिजनको सुरुमा रोमाबाट आएका सालहले लिभरपुलका लागि अहिलेसम्म ४३ गोल गरिसकेका छन् ।
खेलको अन्तिम समयतिर भने रोमाले दुई गोल फर्कायो । ८१ औं मिनेटमा एडिन जेकोले र ८५ औं मिनेटमा पाएको पेनाल्टीमा डिएगो पेरोटीले गोल गरे ।


प्रतिक्रिया दिनुहोस्