काठमाडौं / नेपाल पत्रकार महासंघमा तालाबन्दी भएको छ । संचारग्रामस्थित केन्द्रीय कार्यालयसहित सातैओटै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको छ । महासंघलाई साझा संगठन बन्न नदिने प्रयास भएको भन्दै विभिन्न सातओटा संगठनहरुले तालाबन्दी गरेका हुन् । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र निकट पत्रकार संगठनले महासंघमा सिन्डिकेट लगाएको भन्दै क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल, प्रेस सोसाइटी, नेपाल, संघीय प्रेस फोरम र मधेसी पत्रकार समाज अावद्ध पत्रकारहरुले तालाबन्दी गरेका हुन् । तालाबन्दीबाट प्रदेश निर्वाचन प्रभावित हुने भएको छ । प्रदेश निर्वाचनअन्तरगत अाज उम्मेदवारी दर्ताको कार्यसूची तय भएको थियो । केन्द्रीय कार्यालयका साथै, तीन प्रदेश कार्यालय हेटौडा, पाँच नम्बर प्रदेशको रुपन्देही, चार नम्बर प्रदेशको पोखरा, कर्णाली प्रदेशको सुर्खेत, ७ नम्बर प्रदेशका धनगढी र एक र दुई नम्बर प्रदेश कार्यालयमा पत्रकारहरुले तालाबन्दी गरेका छन् । त्यसैगरी अान्दोलनरत पत्रकारहरुले भृकुटीमण्डपस्थित काठमाडौं शाखामा पनि तालाबन्दी गरेका छन् । यसैबीच रुपन्देहीमा नेपाल पत्रकार महासंघका दुई जना केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष कार्यालयभित्रै थुनिएका छन् । तालाबन्दी गर्न त्यहाँ पुगेको पत्रकारहरुले बाहिर निस्कन अाग्रह गर्दा नमानेपछि बाहिरबाट तालाबान्दी गरिएको हो । सिण्डिकेटको विरोध र निर्वाचन प्रक्रियामाथि प्रश्न उठिरहेको बेला उम्मेदवारी दर्ताको प्रक्रिय अगाडि बढाउन खोजेकोले तालाबन्दी गर्नु परेको अान्दोलतरत पत्रकारहरुको भनई छ । यस्तो छ सात संगठनको विज्ञप्ती नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनका सन्दर्भमा महासंघको वर्तमान कार्यसमितिले अगाडि बढाएको प्रक्रिया र सोही आधारमा सतहमा भइरहेका अभ्यासप्रति हामी तल उल्लेखित संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ सबै श्रमजीवी पत्रकारहरुको छाता र साझा संस्था हो । श्रमजीवी पत्रकारका हक, हित, अधिकार र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षक तथा नागरिक समाजको अगुवा संस्थाका रुपमा महासंघ रहेको छ । महासंघ नेपाली समाजको विविधता झल्किने सम्पूर्ण रुपमा समावेशी र प्रतिनिधित्वमूलक हुनुपर्दछ । तर, प्रदेश निर्वाचन हुँदै गर्दा महासंघलाई साझा बन्न नदिने प्रयत्न भइरहेका छन् । महासंघ जस्तो उच्च गरिमा र व्यापक भूमिका भएको संस्थामा सिन्डिकेट तथा मनपरी लाद्ने प्रयत्न भइरहने र कार्यसमितिले अमूर्त रुपमा त्यसलाई मान्यता दिने काम भइरहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका रक्षा र महासंघको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलेका र महासंघका सबै प्रक्रियामा सहभागी भएका अरु सरोकारवालाहरु पनि छन भन्ने हेक्का महासंघलाई छ भन्ने हामीलाई लाग्छ । तर, महासंघको वर्तमान नेतृत्वले त्यसखालको पहल गरेको हामीलाई अनुभूति भएको छैन । कार्यसमितिले अगाडि बढाएको प्रक्रियाले अब हुने प्रदेश निर्वाचनको बैधानिकतामाथि नै ठूलो प्रश्न उठ्ने छ । प्रदेश निर्वाचन यसअघि सम्पन्न शाखाहरुको निर्वाचनकै निरन्तरता हो । शाखाको निर्वाचनबाट प्रदेश सभा र केन्द्रका लागि प्रतिनिधि समेत निर्वाचित भइसकेका छन् । तर, अहिले नविकरणको मात्र मापदण्ड बनाएर शाखाको निर्वाचनमा सहभागी नभएका करिव ५० प्रतिशत सदस्यहरुलाई प्रदेश निर्वाचनमा भोट हाल्ने अधिकारबाट बञ्चित गरिँदैछ । शाखाको निर्वाचनमा सहभागी भएका सबै सदस्यहरुलाई मतदान अधिकार दिइनुपर्छ । अविछिन्न उत्तराधिकारवाला संस्था महासंघको विगतका नेतृत्वले गरेका अभ्यास र अहिलेको विधानमा समेत दुई वर्षभित्र नविकरण गर्न सकिने व्यवस्था छ । त्यसैले सदस्यहरुको मताधिकार खोस्ने सोचप्रति हामी गम्भीर आपत्ती जनाउँदछौ । महासंघको इतिहासमा पहिलो पटक बन्दै गरेको प्रदेश संरचनालाई सबै हिसाबले समावेशी, सबैको अपनत्व बोध हुने र प्रतिनिधित्वमूलक बनाउन सरोकारवाला संघ संगठनहरुसँग गम्भीर छलफल गरिनुपर्छ । प्रदेश निर्वाचनको वैधानिकतामाथि नै प्रश्न उठिरहेको अवस्थामा तत्काल प्रक्रिया रोकी छलफल अगाडि बढाउन माग गर्दछौ । सुरुवातदेखि नै यसलाई विवादित बनाएर महासंघलाई नै छाता, साझा र अगुवा संस्था बन्न नदिने भइरहेका गतिविधि रोक्न माग गर्दछौ । यदि कार्यसमितिले यो पहल गर्दैन र कसैको सिन्डिकेट तथा मनपरीलाई नै स्वीकार गरी अरु संघ संगठन तथा सरोकारवालाहरुलाई यो प्रक्रियामा सहभागी हुन नदिन महासंघको वर्तमान नेतृत्व लाग्छ भने त्यो ठूलो विडम्वना हुनेछ । तसर्थ महासंघको वर्तमान कार्यसमितिले उत्पन्न विवादलाई समाधान गर्न २४ घन्टाभित्र पहल नगरेमा तालाबन्दीसहितका निम्न कार्यक्रम गर्न बाध्य हुने जानकारी गराउदछौ । कार्यक्रमहरु १. प्रदेश निर्वाचनका क्रममा भइरहेका विवादित गतिविधिहरु रोक्न आम पत्रकारहरुलाई आह्वान गर्ने । २. कार्यसमितिका काम तथा प्रदेश निर्वाचनका सन्दर्भमा गरिएका गतिविधि तथा सिन्डिकेटका विरुद्ध महासंघका पूर्व सभापति, अध्यक्ष तथा सबै सरोकारवालाहरुबीच अन्तरक्रिया गर्ने । ३. महासंघ सबैको साझा बनाउने र प्रतिनिधित्व सुनिश्चित हुने अवस्था सिर्जना नगरी जवरजस्त सिन्डिकेट र मनपरी लाद्ने प्रयत्न गरिएमा महासंघमा तालाबन्दी गर्ने । ४. प्रदेश निर्वाचनको वैधानिकतामाथि उठेका प्रश्नको छलफलका लागि कानुनी उपचार खोज्ने । प्रभात चलाउने अध्यक्ष क्रान्तिकारी पत्रकार संगठन, नेपाल नारायण शर्मा अध्यक्ष, प्रगतिशील पत्रकार संघ, नेपाल इन्द्र राउत अधयक्ष, क्रान्तिकारी पत्रकार महासंघ केशव अर्याल उपाध्यक्ष, प्रेस सोसाइटी नेपाल गोपाल पौडेल अध्यक्ष, मिडिया नेपाल सरोज खिलाडी महासचिव, संघीय प्रेस फोरम मोहन सिंह अध्यक्ष, मधेशी पत्रकार समाज