कृष्ण र अर्जुनको खोजीमा नेपाल, रबि र बालेनलाई एक खुला पत्र – इ.वीरेन्द्र श्रेष्ठ, ताप्लेजुङ


0
Shares

प्रिय रबि र बालेन,

नेपालको राजनीतिक इतिहासमा केही क्षण यस्ता आउँछन्, जहाँ व्यक्तिहरू मात्र होइन, सम्भावनाहरू पनि एकअर्कासँग भेट्छन्। आजको समय त्यस्तै एउटा मोड हो। यो केवल दुई लोकप्रिय पात्रहरूको कथा होइनस यो पुरानो सत्तासंरचना र नयाँ जनआकांक्षाबीचको संघर्षको कथा हो।

रबि, तपाईंले भोग्नुभएका घटनाहरूलाई केवल कानुनी प्रक्रियाको आँखाले मात्र हेर्न मिल्दैन। नेपालमा सत्ता सधैं अदालत, प्रशासन र राजनीतिक प्रभावको त्रिकोणभित्र खेल्ने गरेको छ। जब कुनै नयाँ शक्ति स्थापित स्वार्थका लागि खतरा बन्छ, उसलाई चुनावमा मात्र होइन, मनोवैज्ञानिक रूपमा पनि पराजित गर्ने प्रयास गरिन्छ। चरित्रहत्या, निरन्तर आरोप, हिरासत, अपमान र मानसिक दबाब त्यसैका अध्याय हुन्। तर विडम्बना के छ भने, कहिलेकाहीँ सत्ताले सिर्जना गरेको पीडित पात्र नै जनताको आँखामा प्रतिरोधको प्रतीक बनेर निस्कन्छ।

बालेन, तपाईंले देखाउनुभएको अर्को सत्य झन् रोचक छ। राजनीतिक दलहरू असफल हुँदा नागरिकले व्यवस्थापक खोज्छन्। भाषणभन्दा परिणामको माग गर्छन्। तपाईंप्रतिको आकर्षण परम्परागत राजनीतिप्रतिको निराशाको प्रतिफल पनि हो। त्यसैले तपाईं व्यक्ति मात्र होइन, एउटा सन्देश पनि हुनुहुन्छ।

आज नेपालमा वास्तविक युद्ध कांग्रेस, एमाले अथवा माओवादीसँग होइन। वास्तविक युद्ध यिनिहरुले दशकौँमा निर्माण गरेको संरचनासँग हो। त्यो संरचना केवल सिंहदरबारमा मात्र छैनस त्यो ठेक्कापट्टामा छ, नियुक्तिमा छ, बिचौलियामा छ, दलाली अर्थतन्त्रमा छ, प्रशासनिक संस्कृतिमा छ र नागरिकको निराशामा समेत छ।

यही कारणले रबि र बालेनको सम्भावित सहकार्य धेरैका लागि आशा र धेरैका लागि त्रास बनेको छ। जब दुई फरक स्रोतबाट जन्मिएका जनविश्वासहरू एउटै दिशामा बग्न थाल्छन्, पुराना शक्ति केन्द्रहरू असहज बन्ने स्वाभाविक हो। त्यसपछि सुरु हुन्छ(फुटाऊ, भ्रम फैलाऊ, शंका रोप, अहंकार बढाऊ र अन्ततः विफल बनाऊ भन्ने पुरानो राजनीतिक शास्त्रीय अस्त्र।

महाभारतमा कृष्णले युद्ध लडेका थिएनन्, तर युद्धको दिशा निर्धारण गरेका थिए। अर्जुनले रणनीति बनाएका थिएनन्, तर निर्णायक बाण चलाएका थिए। नेपाललाई आज यिनै दुई गुणको संगम आवश्यक छ(दूरदृष्टि र कार्यान्वयन। यदि यी शक्ति अलग(अलग बाटो लागे भने जनआशा फेरि टुक्रिनेछ। यदि एउटै राष्ट्रिय उद्देश्यमा केन्द्रित भए भने राजनीतिक समीकरण मात्र होइन, राजनीतिक संस्कृति नै बदलिन सक्छ।

तर एउटा कठोर सत्य स्वीकार्नैपर्छ। जनादेश परिवर्तनको अनुमति हो, परिणामको प्रमाणपत्र होइन। आगामी दुई वर्ष तपाईंहरूको लागि सबैभन्दा कठिन परीक्षा हुनेछ। किनभने बिगार्न दशक लागेका संरचना सुधार्न केही महिना पर्याप्त हुँदैनन्। सुशासनको जग बसाल्न, विधिको शासन स्थापित गर्न र राज्यलाई नागरिकमुखी बनाउन समय लाग्छ। त्यसपछि मात्र विकास र समृद्धिको रथले गति समात्नेछ।

रास्वपाको प्रथम महाधिवेशनपछि अब भावनात्मक आन्दोलनलाई संस्थागत आन्दोलनमा बदल्ने समय आएको छ। पार्टी व्यक्तिभन्दा ठूलो, नीति नाराभन्दा ठूलो र मुलुक दलभन्दा ठूलो बन्न सके मात्र यो यात्रा टिकाउ हुनेछ। पाँच वर्षे, दस वर्षे र पच्चीस वर्षे राष्ट्रिय दृष्टिकोण कागजमा होइन, कार्यान्वयनमा देखिनुपर्छ।

इतिहासले अवसर दिएको छ। अब प्रश्न एउटै छ, तपाईंहरू इतिहास लेख्नुहुन्छ कि इतिहासको एउटा अध्याय बनेर सीमित रहनुहुन्छरु

उत्तर तपाईंहरूको निर्णयमा छ, तर त्यसको प्रभाव सम्पूर्ण राष्ट्रले भोग्नेछ।

इ.वीरेन्द्र श्रेष्ठ, ताप्लेजुङ्


प्रतिक्रिया दिनुहोस्