हाङ्देवामा पहिलो पटक अकबरे खोर्सानीको व्यावसायिक खेती


0
Shares

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका वडा नं. ९ हाङ्देवामा पहिलो पटक अकबरे खोर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ। स्थानीय किसान मुक्ति कार्कीले करिब १० रोपनी जग्गामा अकबरे खोर्सानी खेती विस्तार गरेका हुन्।
परम्परागत मकै तथा कोदो खेती प्रणालीलाई क्रमशः विस्थापित गर्दै छोटो समयमा राम्रो आम्दानी लिन सकिने सम्भावना देखेपछि कार्की अकबरे खेतीतर्फ आकर्षित भएका हुन्। उनले हाल ६ हजारभन्दा बढी अकबरे खोर्सानीका बिरुवा रोपेको जानकारी दिएका छन्।


प्राकृतिक विपद्बाट क्षति नभएमा तथा बजार मूल्य प्रतिकिलो ३०० रुपैयाँभन्दा माथि कायम रहेमा राम्रो आम्दानी लिन सकिने कार्कीको अपेक्षा छ। न्यूनतम रूपमा प्रति बोट ५० रुपैयाँ आम्दानी भए पनि नाफामूलक खेती गर्न सकिने उनको भनाइ छ।
गत वर्ष “Routine of Nepal Banda” मा अकबरे खोर्सानीलाई सम्मानस्वरूप ढोगिएको भिडियो सार्वजनिक भएपछि यसको माग उल्लेखनीय रूपमा बढेको कार्की बताउँछन्। विशेषगरी दसैं–तिहारका बेला गाउँ आउने आफन्तहरूले कोशेलीका रूपमा लैजाने गरेका छन् भने पाथीभरा (मुक्कुमलुङ) दर्शनका लागि आउने तीर्थयात्रीहरूले समेत पाँचथर र इलामबाट अकबरे खोर्सानी खरिद गरेर लैजाने गरेका छन्।


अकबरे खोर्सानीप्रति बढ्दो आकर्षणले उत्साहित बनेका कार्कीले ताप्लेजुङको उत्पादनलाई ब्रान्डिङ गरी व्यवस्थित बजार व्यवस्थापन गर्न सके स्थानीय किसानले राम्रो आम्दानी लिन सक्ने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्