श्रम संस्कृतिले टुङ्ग्यायो समानुपातिक उम्मेदवार, चार जनाको नाम सार्वजनिक काठ्माडौं – श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छ। धरानमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले चार जनाको नाम टुङ्गो लगाएको हो। पार्टीले सार्वजनिक गरेको विवरणअनुसार आदिवासी जनजाति कोटाबाट पूर्ण प्रसाद लिम्बु (पुरुष) लाई उम्मेदवार बनाइएको छ। त्यस्तै, खास आर्य कोटाबाट अम्बिका देवी सडौला (महिला), दलित कोटाबाट राधिका रस्तेल (महिला) र मधेसी कोटाबाट रवी कुमारी ठाकुर (महिला) लाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। पार्टीका अनुसार उम्मेदवारहरूलाई पार्टीको विधान, योग्यता तथा क्षमताको आधारमा छनोट गरिएको हो। केन्द्रीय कमिटीको निर्णयअनुसार सम्बन्धित निकायमा उम्मेदवारहरूको नाम पठाइसकिएको जनाइएको छ। पार्टी प्रवक्ता सत्य घले गुरुङ द्वारा जारी विज्ञप्तिमा समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारहरूको नाम आज औपचारिक रूपमा सार्वजनिक गरिएको उल्लेख गरिएको छ। समानुपातिक सूचीमा १ पुरुष र ३ महिला गरी जम्मा ४ जना उम्मेदवार समावेश गरिएको पार्टीले जनाएको छ।