मृगौला पीडित बाबु–छोरालाई १ लाख २० हजार सहयोग काठमाडौँ । मोरङको केराबारी गाउँपालिका–१० निवासी मृगौला पीडित बाबु–छोरा पूर्ण बहादुर मगर र शम्भु मगरलाई १ लाख २० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। दुवैजनाको मृगौला फेल भई उपचारका लागि अत्यावश्यक खर्च अभाव भएपछि हङकङमा संकलित रकम नेपाल पठाएर सहयोग गरिएको हो। उक्त रकम हङकङस्थित ‘चौबिस समाज हङकङ’का अध्यक्ष नीर बहादुर लिम्बूको पहलमा त्यहाँ रहेका दाताहरूबाट संकलन गरिएको थियो। संकलित रकम केराबारी–१० का स्थानीय अमित सुब्बा लिबाङको समन्वयमा नेपाल ल्याइएको हो। सहयोग रकम निर्माता, निर्देशक तथा समाजसेवी हस्त बहादुर लिबाङमार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार किसान राई, केराबारी गाउँ कार्यपालिका सदस्य तुलसी घिमिरे, वडा नम्बर १० का सचिव जित बहादुर लिम्बू, बुद्धिजीवी अरुण खतिवडा, प्रेम लावतीलगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। स्थानीयका अनुसार पीडित बाबु–छोराको उपचारका लागि अझै थप आर्थिक सहयोग आवश्यक रहेको छ।