संघीय संसद्का दुवै सदन आज बस्दै काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक शुक्रबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा सुरु हुनेछ। बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। बैठकमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद तथा वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्। यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछिन्। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम छ। त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव राख्नेछन्। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ पनि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। यसैगरी, राष्ट्रिय सभाको बैठक दिउँसो १२:१५ बजे बस्नेछ। सो बैठकमा गृह, उद्योग वाणिज्य तथा आपूर्ति, तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै, गृहमन्त्री रमेश लेखकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको छ।