ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको खेलतालिका प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर परिसरबाट सार्वजनिक गरिएको छ। लाखेजात्रा सञ्चालन समितिले बिहिवार एक विशेष कार्यक्रमको आयोजना गर्दै ताप्लेजुङको प्रमुख धार्मिक पर्यटकीय स्थल पाथीभरा मन्दिर परिसरबाट खेल तालिका सार्वजनिक गरेको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिम, लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन, पूर्व अध्यक्ष देवराज गुरुङ लगायतको उपस्थिति थियो। समितिका कोषाध्यक्ष दावा शेर्पाले तालिका सार्वजनिक गरेका हुन्।
साउन २४ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजकको प्रतिनिधित्व गर्ने तेल्लोक स्पोर्टिङ क्लबले सुनसरीको द योङ ब्रदर्स क्लब इटहरीसँग प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै दोस्रो खेलमा पोखराको साहारा क्लबले झापाको रेड स्टार एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, साउन २६ गते भारतको सिलगुढीस्थित लेजण्ड फुटबल एकेडेमी र काठमाडौंको चर्च ब्वाइज क्लब भिड्नेछन्।

साउन २७ गते हुने पहिलो चरणको अन्तिम खेलमा मधेस प्रदेशको सलहेश युवा क्लब र फिदिम स्पोर्टिङ क्लब ९पाँचथर० आमनेसामने हुनेछन्। प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ। पहिलो चरणका खेलपछि साउन २८ र २९ गते सेमिफाइनल खेल हुनेछन्। साउन ३० गते भने खेल स्थगित राखी सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिनेछ। फाइनल खेल साउन ३१ गते हुनेछ।

लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष मादेनका अनुसार प्रतियोगिताले ताप्लेजुङको पर्यटन, खेलकुद र संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्