मैवाखोलाद्धारा मर्मतका लागि पालिका क्षेत्रका १७ वटा सडक छनौट प्रकाशित मिति : 22 September, 2024 8:03 am ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मर्मतसम्भार गर्नेगरी पालिका क्षेत्रका १७ वटा सडक प्राथमिकता गरेको छ ।पालिकाका ६ वटै वडामा रहेका मुख्य र शाखा सडक मर्मतसम्भार गरी यातायात सेवा नियमित गर्न कार्यपालिकाको बैठकबाट १७ वटा सडक छनौट गरिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार सडकको मर्मतसम्भार यसैसाताट सुरु गर्ने तयारी छ । पहिलो चरणमा पालिकाका प्रत्येक वडा पुग्ने मुख्य सडकक्षेत्रहरु मर्मतसम्भार गरिने छ । ‘सम्भवतःदशैं अघि नै पालिकाका प्रत्येक वडा पुग्ने मुख्य सडकक्षेत्रहरु मर्मतसम्भार सक्ने गरी योजना बनाएका छौं’गाउँपालिका अध्यक्ष वनेमले भन्नुभयो । उहाँले त्यसका लागि पालिकाका प्राविधिकहरुमार्फत प्राविधिक अध्ययन सुरु भएको समेत बताउनुभयो । पहिरो तथा बाढी सहितका विपद्का कारण मर्मतसम्भार नगरी नहुने सडकहरु छनौट गरी मर्मतसम्भारको तयारी गरिएको पालिकाले जनाएको छ । मैवाखोला प्राकृतिक विपद्बाट प्रभावित क्षेत्र हो । अघिल्लो बर्षको विपद्का कारण मैवाखोलाको ओदक र ताम्राङ क्षेत्रका ६५ घर परिवार बस्नै नसक्ने अवस्थामा रहेपछि पालिकाले उनीहरुलाई अस्थायी एकीकृत बस्तिमा स्थानान्तरण गरेको छ । नेरुवाखोलामा आएको पहिरो र बाढीले सडकनै बगाएपछि पालिकाको केन्द्र समेत रहेको वडा नं ३ बाट वडा नं ४ हुँदै सवारीसाधनमार्फत वडा नं ५ र ६ जान सकिने अवस्था छैन । यस्तै वडा नं २ बाट नेरुवाखोला तरेर खार्ते हुँदै वडा नं ६ तर्फ जान समेत नेरुवाखोला माथिको झोलुङ्गेपुल बाहेक चारपाङ्ग्रे सवारी जान सक्ने अवस्था छैन । त्यहाँको अस्थायी पुल समेत बगाएकोले समस्या भएको छ । यसबाहेक पालिका क्षेत्रका बिभिन्न सडकहरु मर्मत नगरी सवारी साधनको नियमित ओहोरदोहर गर्न समस्या भएपछि पालिकाले सवारी साधनको नियमित ओहोरदोहरका लागि मर्मतसमभार गर्नुपर्ने सडकको प्राथमिकीकरण गरेको पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो ।फोटो ः अघिल्लो बर्षको पहिरोबाट भत्किएको वडा नं ३ हुँदै वडा नं ४ ताम्राङतर्फ जाने नेरुवाखोला छेउ नजिक सडक सुचारुका लागि प्राविधिक अध्ययन हुँदै ।