रास्वपाले स्थापना गर्यो ताप्लेजुङमा सम्पर्क कार्यालय प्रकाशित मिति : 21 May, 2023 7:49 pm देबेन्द्र बानियाँ ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा राष्ट्रिय स्वतन्त्र पार्टीले सम्पर्क कार्यालय स्थापना गरेको छ । आज सदरमुकाम फुङलिङमा एक कार्यक्रमको आयोजना गरी पार्टीका महामन्त्री डा. मुकुल ढकालको प्रमुख अतिथिमा उक्त सम्पर्क कार्यालयको स्थापना गरिएको हो । सम्पर्क कार्यालयको स्थापना सँगै पार्टीले ताप्लेजुङ जिल्लाका स्थानीय नागरिक सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । छलफल तथा अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रीय महामन्त्री डा. मुकुल ढकालले आफूहरूले झुटा आश्वासनका लागि राजनीतिक दल नखोलेको बताएका छन् , उनले भने, ‘हामीले झुटा आश्वासन देखाएर राजनीतिक दलको आविष्कार गरेका होइन देश र जनताको हितको सपना देखेर अघि बढेका छौं ।’ उनले थपे, ‘अहिले हामी एक वर्ष नपुग्दै चौथो ठूलो दल बनेका छौं । आगामी २०८४ सालको निर्वाचनमा सम्ममा रास्वपा यो देश सबैभन्दा ठूलो पार्टी बन्ने छ ।’ कार्यक्रममा केन्द्रिय महामन्त्री डा. ढकाल, पार्टीका केन्द्रीय अनुशासन विभाग संयोजक यज्ञ मणि न्यौपाने, पार्टी केन्द्रीय समिति कमल सुवेदी, कोशी प्रदेश महामन्त्री लाल विक्रम थापा, गायक तथा इन्जिनियर बिरेन्द्र श्रेष्ठ, हर्क राज गुरुङ, युवा नेता दावा शेर्पा, लिलाराज पौडेल, राजन गुरुङ लगायत स्थानीय बासीहरूको उपस्थिति रहेको थियो।