ताप्लेजुङ । कोशी प्रदेश नामाकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका लाजेहाङ लिम्बू (पदम)को दाहसंस्कार प्रदेश १ पुन: नामाकरण संघर्ष समितिले अघि सारेका मागहरू पुरा भएपछि मात्र गर्ने भएका छन् । प्रदेश १ को सम्पूर्ण पहिचानवादी सङ्गठनहरूले ऐक्यबद्धता जनाउँदै उक्त निर्णय गरेका हुन् । 

प्रदेश नं. १ को नाम कोशी खारेजी आन्दोलन प्रति ताप्लेजुङका आदिवासी जातीय सङ्गठनहरूले पनि ऐक्यबद्धता जाहेर गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै नेपाल आदिवासी जनजाति महासंघ, नेवा: द्यु ढ्यू नेपाल तामाङ घेदुङ संघ, तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद, सुनुवार सेवा समाज, वालुङ उत्थान समाज, नेपाल मगर संघ, नेपाल शेर्पा संघ, तोक्पेगोला सेवा समाज, किरात राई यायोक्खा, राई याख्खा छुम्मा, भुजेल सेवा समाज र किराज याक्थुङ चुम्लुङले ऐक्यबद्धता जनाएका हुन् । 

कोसी नामलाई खारेज गरी पहिचानवादी आन्दोलनकारी सँग सहमति गरेर प्रदेशको नाम पुन नामाकरण गर्नु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै लाजेहाङलाई राष्ट्रिय सहिद घोषण गरी हत्यारालाई कडा कारबाही गर्न पनि माग गरेका छन् । 

साथै चैत्र १४ गते विराटनगरमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरू माथि प्रहरीद्धारा लाठीचार्ज र गोली प्रहार गरी घाइते बनाइएकाहरूको तुरुन्त स्वास्थ्य उपचारको माग गरिएको छ । यदि उक्त मागहरू पुरा नभए आफूहरू पनि आन्दोलनमा होमिने चेतावनी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्