आजबाट निष्कासनमा आयो सर्वसाधारणका लागि सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ, कति कित्ता ?

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो। 

सोमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ। 

बाँकी रहेको ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर आजदेखि सर्वसाधारणका लागि निष्कासन गरेको हो । सो शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा फागुन ३० गते हुनेछ भने ढिलोमा चैत १० गते हुनेछ ।

 आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । 

कम्पनीले सञ्चालन गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजनाले कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनाको प्रति मेगावाट लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँ अनुमान गरिएको छ । 

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.३६ वर्ष रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति २९ वर्ष ८ महिना बाँकी रहेको छ ।

 लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्