प्रथम उपमेयर रनिङ कप : फुङ्लिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिका फाइनलमा प्रवेश 

देबेन्द्र बानियाँ

ताप्लेजुङ। गत २१ गते बाट जारी प्रथम उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको फाइनलमा फुङ्लिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिका प्रवेश गरेको छ । भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा फुङ्लिङ नगरपालिकाले मेरिङदेन गाउँपालिकालाई  ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय एक एक गोलको बराबरीमा सकिएको खेल ट्राइबेकरमा धकेलिएको थियो । यस्तै सिरिजङ्गा गाउँपालिकालाई ५-१ गोलको अन्तरले पराजित गर्दै आठराई त्रिवेणी गाउँपालिका पनि फाइनलमा प्रवेश गरेको हो ।

अब उपाधिको लागि भोलि फुङ्लिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिकाबीचको प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैयाँ राशिको नगद पुरस्कार र ट्रफी प्राप्त गर्दा उपविजेता बन्ने टिमले ५५ हजार ५०० सय रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने  खेल संयोजक क्षितिज सुनुवारले जानकारी दिएका छन् ।

यस्तै प्रतियोगितामा सहभागी खेलाडीलाई उत्कृष्टका आधारमा विधागत पुरस्कार पनि प्रदान गरिने उनले बताए ।  १ सय १३औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर फुङलिङ नगरपालिकाले प्रथम उपमेयर रनिङ कप महिला फुटबलको आयोजना गरेको हो ।


प्रतिक्रिया दिनुहोस्