प्रथम महिला उपमेयर कप भोलिबाट सुरु, फुटबलमा अब्बल मानिएको मैवाखोलाले जनाएन सहभागिता प्रकाशित मिति : 4 March, 2023 4:52 pm ताप्लेजुङ । भोलिबाट प्रथम महिला उपमेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । फुङ्लिङ नगरपालिकाको आयोजनामा नारी दिवसको अवसर पारेर अन्तरपालिका स्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको हो । फुङ्लिङ नगरपालिकाले आज पत्रकार सम्मलेन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको छ । फुङ्लिङ नगरपालिकास्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा आइतबारदेखि सुरु हुने प्रतियोगिता २४ गते अन्तराष्ट्रिय नारी दिवसको दिन समापन हुने फुङलिङ नगरपालिकाका उपमेर भिमादेवि ओझाले जानकारी दिएका छन् । यस अघि मेयर कम हुँदै आएको र महिला खेलाडीको उत्पादन सँगै महिलाहरूलाई पनि खेल क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सुरु गरिएको उनले बताए । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको खेल संयोजक एवम् फुङ्लिङ नगरपालिकाको सामाजिक विकास संयोजक क्षितिज सुनुवारले बताए । फुङ्लिङ नगरपालिकासहित जिल्लाका नौ मध्ये आठ स्थानीय तहको प्रतियोगितामा सहभागिता रहने पनि उनले बताए । आयोजकबाहेक सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा, आठराई त्रिबेणी, मेरिङ्देन, मिक्वाखोला, पाथीभरा याङ्वरक र फक्ताङ्लुङ गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाउने छन् । खेलको प्राविधिक तथा सञ्चालनको समायोजन भने जिल्ला फुटबल संघले गरेको छ । प्रतियोगितामा सहभागी हुने पालिकाको टुङ्गो लागेअनुसार नै खेल तालिका तयार गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष अशोक चेम्जोङले बताए । तर, फुटबलका लागि अब्बल मानिएको मैवाखोला गाउँपालिकाले भने यो प्रतियोगितामा सहभागिता जनाएको छैन । जिल्लाकै फुटबल क्षेत्रमा अब्बल मानिएको उक्त गाउँपालिकाले सहभागिता नजनाउँदा भने दुख लागेको जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङले बताए । उपमेयर रनिङ कप महिला फुटबल अर्थात प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपियाँ राशीको नगद पुरस्कार र ट्रफी पाउने छ । उपविजेताका लागि भने ५५ हजार ५०० रुपियाँ नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रतियोगितामा सहभागी खेलाडीलाई उत्कृष्टताका आधारमा विधागत पुरस्कार प्रदान गरिने पनि खेल संयोजक सुनुवारले जानकारी दिएका छन् ।