आजबाट निष्कासनमा आयो सानिमा मिडिल तमोर हाइड्रोको आईपीओ, कहिलेसम्म दिन सकिन्छ आवेदन ? प्रकाशित मिति : 18 January, 2023 5:34 pm ताप्लेजुङ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्कासनमा ल्यएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३३ लाख ३२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासनमा ल्याएको हो । जसमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा मिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ४० प्रतिशत अर्थात १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाका बासिन्दाहरूका लागि ६० प्रतिशत अर्थात १९ लाख ९९ हजार ५०० कित्ता शेयर निष्कासन गरेको छ । यसका साथै सर्वसाधारणमा निष्कासन हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो । सो शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा माघ १८ गते हुनेछ भने ढिलोमा फागुन ४ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ १८ गतेभित्र आवेदन दिनु पर्नेछ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीले सञ्चालन गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजनाले कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनाको प्रति मेगावाट लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँ अनुमान गरिएको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.३६ वर्ष रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमति २९ वर्ष ८ महिना बाँकी रहेको छ । स्थानीय बासिन्दाले सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।