चार महिनापछि नेप्से सूचक २००० विन्दुमाथि, २ अर्ब ८६ करोड ३ लाख बढिको कारोबार प्रकाशित मिति : 29 December, 2022 5:04 pm काठमाडौं । शेयर बजार मापक नेप्से सूचक चार महिनापछि २००० विन्दुमाथि पुगेको छ । बिहीबार नेप्से सूचक ५६ अंकले बढेर २००० विन्दु माथि पुगेको हो । यसअघि गत भदौ १० गते नेप्से सूचक २०२२.६२ विन्दुमा थियो । त्यसपछि बिहीबार मात्र नेप्से सो विन्दुभन्दा माथि पुगेको हो । बिहीबार नेप्से सूचक ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि सामान्य बढेको छ । यस दिन २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरको ८० लाख २४ हजार ५५९ कित्ता शेयर कारोबार भएको छ । यस दिन १० कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । हिमालयन उर्जा सानिमा लाइफ र सृजनशिल लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस दिन नेश्डो लघुवित्तको शेयरमूल्य १.०४ प्रतिशतले घटेको छ भने इस्टर्न हाइड्रोपावरको ०.८२ प्रतिशत र उपकार लघुवित्तको ०.४७ प्रतिशतले घटेको छ । बिहीबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको १० करोड ९२ लाख, रिडि हाइड्रोपावरको १० करोड १४ लाख र एनआइसि एशियाको ९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ५.३८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको ४.९२ प्रतिशत र निर्जीवन बीमा उपसमूहको सूचक ४.३९ प्रतिशतले बढेको छ । पछिल्लो समय नयाँ सरकार गठनसँगै एमालेका नेता विष्णु पौडेलले अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन् । उनले अर्थमन्त्रालयको कार्यभार सम्हालेसँगै बजारले सकारात्मक गति समाउन थालेको हो ।