सेयर बजारमा ५ महिना यताकै उच्च कारोबार, ५९.८७ अंकले बढ्यो नेप्से

काठमाडौं । यो साताको दोस्रो कारोबार दिन आज (मंगलबार)सेयर बजारको कारोबार उच्च अंकले बढेको छ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५९.८७ अंक बढेर १९८३.९५ बिन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इन्डेक्स ३.६९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.२८ अंकले बढेको छ ।

मगंलबार कारोबारमा आएका २६१ कम्पनीको १ करोड २० लाख २९ हजार कित्ता सेयर ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । सोमबार भने सेयर बजारमा २ अर्ब बराबरको कारोबार भएको थियो ।

मगंलबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये लगानी उपसमूहको परिसूचक ६।४३ प्रतिशत बढेको छ भने वित्त, होटल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

मंगलबार ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सिद्धार्थ इन्स्योरेन्स, मल्टिपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्त र कालिका पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । मंगलबार कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ ।

बैंकको २० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।


प्रतिक्रिया दिनुहोस्