मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका खेलाडी, यस्ता छन् अन्य रेकर्डहरु

एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेल सकिएको छ । बुधबार बिहान १२ः४५ बजे शुरु भएको खेलमा अर्जेन्टिनाले क्रोएशियालाई ३–० ले पराजित गरेको छ ।

खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले एक गोल गरेका छन् भने अल्भारेजले दुई गोल गरेका छन् । यस खेलसँगै मेस्सीले केही नयाँ रेकर्डहरु बनाएका छन् ।

उनी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका खेलाडी बनेका छन् । उनले हालसम्म विश्वकपमा ११ गोल गरेका छन् । यस अघि यो रेकर्ड गेब्रियल बतिस्तुताको नाममा थियो । बतिस्तुताले विश्वकपमा १० गोल गरी कायम गरेको रेकर्ड मेस्सीले तोडेका हुन् ।

विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको तेस्रो स्थानमा म्यारोडनाको नाम छ । उनले विश्वकपमा ८ गोल गरेका छन् ।

यसका साथै मेस्सी जारी विश्वकपको गोल्डन बुट प्रतिस्पर्धामा पनि अगाडि आएका छन् । उनले ५ गोल सहित गोल्डन बुटको रेसमा शीर्ष स्थानमा रहेका एम्बाप्पेसँग बराबरी गरेका छन् ।

त्यसैगरी, मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने पाका खेलाडीको रेकर्ड पनि आफ्नो नाममा पारेका छन् । ३५ वर्षिय मेस्सीले विश्वकपमा ५ गोल गर्दै सो रेकर्ड आफ्नो नाममा परेको हो ।

मेस्सीको नाममा अर्को रेकर्ड भने सर्वाधिक विश्वकप म्याच खेल्ने खेलाडीको रेकर्ड तोडेका छन् । क्रोएशियासँगको खेल मेस्सीको २५ औँ खेल हो । यस अघि यो रेकर्ड जर्मनीका लोथर मथोसको नाममा थियो। उनले विश्वकपमा २५ खेल खेलेका थिए ।

अर्जेन्टिना फाइनलमा पुगेसँगै सो खेल मेस्सीको विश्वकपमा २६ औँ खेल हुनेछ। जसले गर्दा सर्वाधिक विश्वकप म्याच खेल्ने खेलाडीको रेकर्ड उनको नाममा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्