सिटिजन्स बैंकको साधारण सभा आज, के छ एजेन्डा ? प्रकाशित मिति : 21 October, 2022 8:54 am काठमाडौं । सिटिजन्स बैंकले आज साधारण सभा गर्ने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सोह्रौं वार्षिक साधारण सभाको मिति तय गरेको हो । सभा बिहान ११ः०० बजे अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा हुनेछ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । सभामा आर्थिक वर्ष २०७८र७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरू सहितको एकीकृत वासलात र मिति २०७८ साउन १ गतेदेखि २०७९ आसार ३२ गतेसम्मको नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू माथि छलफल गरी पारित गर्ने बैंकले जनाएको छ । त्यस्तै, समितिबाट प्रस्ताव गरे अनुसार ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ कारोड ८० लाख ८७ हजार ६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने विषयहरू साधारण सभाका प्रस्तावहरू रहने बैंकले जनाएको छ । सिटिजन्स बैंक १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।