‘ताप्लेजुङ महिला हाफ म्याराथन’का विजेतालाई योगेश भट्टराईको सहयोग प्रकाशित मिति : 30 September, 2022 2:25 pm काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘ताप्लेजुङ महिला हाफ म्याराथन’का विजेतालाई नगद सहयोग गरेका छन् । ‘ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव’ को अवसरमा विहीबार सम्पन्न भएको ‘ताप्लेजुङ महिला हाफ म्याराथन’ मा प्रथम भएकी ताप्लेजुङ मैवाखोला गाँउपालिकाका समपाल्मु शेर्पालाई हौसला स्वरुप ६ हजार नगद सहयोग गरेका हुन् । शेर्पाले ३ घण्टा ४१ मिनेट ९ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम भएकी थिइन् । निर्वतमान प्रतिनिधिसभा सदस्य भट्टराईले तेस्रो भएकी ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाकी पेम्वाल्हामु शेर्पालाई पनि नगद ५ हजार प्रदान गरेका छन् । शेर्पा ४ घण्टा ३१ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गदै तेस्रो भएकी हुन् । भट्टराईले विजेता शेर्पाद्वयलाई बधाई पनि दिएका छन् । साथै उनले खेल क्षेत्रको प्रगतिको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । खेल क्षेत्रमा अवसर आए र सहयोग चाहिएमा सम्पर्क गर्न समेत बिजेताहरूलाई आग्रह गरेका छन् । म्याराथनमा दोश्रो स्थान भने भोजपुरकी छेम्बिमाया राई भएकी थिइन् ।