म्यादी प्रहरीमा मागभन्दा दोब्बर बढी आवेदन

काठमाडौं । म्यादी प्रहरीमा मागभन्दा दोब्बर बढीले आवेदन परेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि भन्दै १ लाख १५ हजार म्यादी प्रहरी माग गरिएकोमा २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् ।

म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो । आवेदन दिने म्याद हिजो सकिएको छ ।

यो अवधिमा देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए । सबैभन्दा धेरै मधेस प्रदेशमा आवेदन परेको छ । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा परेको छ ।

दरखास्त दिने सबैलाई आज सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ । ९ गतेदेखि १४ गतेसम्म भर्ना छनोट हुनेछ ।

दरखास्त दिनेमध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन् । म्यादी प्रहरीले ४० दिने कार्य अवधिमा तलब र रासनबापत ४१ हजार ९ सय ६० रुपैयाँ पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्