प्रतिनिधिसभाको अन्तिम बैठक असोज १ गते प्रकाशित मिति : 12 September, 2022 8:42 am काठमाडौं । प्रतिनिधिसभाको अन्तिम बैठक असोज १ मा बस्ने भएको छ । जहाँ सांसदहरुले पाँच वर्षको अनुभव साटासाट गरेर विदाई भेट गर्नेछन् । २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरु आगामी असोज १ गते बिदा हुने भएका हुन् । असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदहरुलाई बिदाई गर्ने कार्यक्रम रहेको छ । ५ वर्षअघि अर्थात २०७४ मंसिर १० र २१ गते भएको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभाका सांसदहरु पहिलो पटक सोही सालको फागुन २१ संसद प्रवेश गरेका थिए । प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निर्क्योल भएसँगै सोही दिन अर्थात असोज १ गते अन्तिम बैठक राखेर सांसदहरुलाई बिदाइ गर्न लागिएको हो । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको मनोनयन असोज २ गते तय भएकाले त्यसअघि सांसदहरुलाई बिदाइ गर्न लागिएको हो । संसद सचिवालयका अनुसार असोज १ मा अन्तिम बैठक राख्ने र त्यसपछि सभामुखले भोज दिएर विदाई गर्ने कार्यक्रम छ । संसद सचिवालयले प्रतिनिधिसभाको भदौ २९ गते बैठक राखेको छ । सोही दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने सरकारको तयारी छ । त्यसपछि पनि प्रतिनिधिसभाको बैठक बस्नेछ । तर, असोज १ गतेको बैठक अन्तिम हुने संसद सचिवालय जनाएको छ ।